राजनीति

कांग्रेस संस्थापन इतर पक्ष आफ्नै बाटो लिने तयारी, राष्ट्रिय भेला घोषणा

फागुन २१ को निर्वाचनअघि विशेष महाधिवेशनमार्फत पाखा परेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्व सक्रिय हुन थालेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने बताउँदै पार्टी सभापति गगनकुमार थापाले नचाहेसम्म पार्टी एक हुन नसक्ने स्पष्ट गर्नुभयो ।

खड्काले मिलाउनेतर्फ पार्टी सभापतिसहितका नेताहरूको ध्यान नगएको भन्दै आपत्ति जनाउँदै भन्नुभयो,
‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौं । हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं । कहिँ पनि भ्रम नहोस् ।’

उहाँले अगाडि भन्नुभयो, ‘यी नेता आफैँ हुन खोजेका छन् भन्ने भ्रम नहोस् । नेपाली कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको छ ।सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौं ।’

खड्काले पार्टी एकताका लागि जोड दिँदा बार्गेनिङको ट्याग लगाएर अपमानित गरेको भन्दै भन्नुभयो, ‘हामी विशेषलाई स्वीकार्न तयार । गगनजी नेतृत्वलाई पूर्णता दिन १४औंको केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?’

विशेष महाधिवेशनलाई पार्टीको विधानविपरीत भएको पनि टिप्पणी गर्दै खड्काले विशेष पक्षका ५४ प्रतिशत र नियमित महाधिवेशनका ४६ प्रतिशतलाई जोड्न सभापति गगनकुमार थापा तयार नभएसम्म सम्भव नहुने स्पष्ट गर्नुभयो ।

सोही कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिंदै यसबीचमा सातै प्रदेशमा कार्यकर्ता तथा नेताहरूसँग छलफल र भेला सम्पन्न गरिसकेको उल्लेख गर्दै अब त्यसको निष्कर्षस्वरूप केन्द्रीय स्तरको राष्ट्रिय भेला गर्न लागिएको बताउनुभयो ।

सम्बोधनका क्रममा नेता सिंहले कांग्रेसको आगामी १५औँ महाधिवेशन पार्टीलाई थप एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्दै महाधिवेशन कुनै पक्ष–विपक्षको प्रतिस्पर्धाभन्दा पनि पार्टीको संगठनात्मक मजबुती र लोकतान्त्रिक मूल्यलाई सुदृढ गर्ने माध्यम बन्नुपर्ने बताउनुभयो ।

विशेष महाधिवेशनबाट गगन थापा समूहले पार्टी नेतृत्व लिएको भए पनि संस्थापन इतर समूहले त्यसलाई अवैध भन्दैआएको छ । लामो समय निस्क्रिय जस्तै रहेको सो सममूह पछिल्लो समय सातै प्रदेशमा क्रमिक रूपमा भेला, अन्तरक्रिया तथा संगठनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.