राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताउनुभएको छ ।
पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले बिपी कोइरालाको ४४ औँ स्मृति दिवस तथा चौँथो स्थापना दिवसको अवसरमा बुधबार मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा उहाँले मानवसेवा सबैभन्दा ठूलो सेवा भएको बताउनुभयो ।
उहाँले दिनदुःखी र बेसहाराका लागि मानवसेवा आश्रमले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । बिपी कोइरालाको राजनीति र धर्मसम्बन्धी दर्शनको जनकल्याण भएको उहाँको भनाइ थियो ।
“धर्म र राजनीति दुवैको अन्तिम लक्ष्य भनेको जनकल्याण नै हो, बिपीका अनुसार धर्मको एउटा पक्ष आध्यात्मिक हुन्छ भने अर्को पक्ष परोपकार हो, त्यसैगरी, राजनीतिको पनि मुख्य पक्ष भनेको सेवा र कल्याण नै हो,” उहाँले भन्नुभयो । राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्ने सभापति थापाको भनाइ थियो ।
नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले सङ्घले हरेक वर्ष बिपी स्मृति दिवसको अवसरमा यस्ता सामाजिक र पुण्य काम गर्दै आइएको जानकारी दिनुभयो । होटल व्यवसायीको काम व्यवसायसँगै समाजसेवा भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।
मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले हाल देशभरका सातै प्रदेशका २३ जिल्लाका ३४ स्थानबाट मानसेवाको काम गर्दै आइरहेको जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्