हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु
बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ ।
गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले बताउनुभयो । मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी उहाँलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो ।
बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । उहाँ प्राकृतिक रुपमा सुत्केरी भएको र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सुरुमा काठमाडौँ लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो ।




प्रतिक्रिया राख्नुहोस्