बिशेषराजनीति

स्वदेशमै अर्ग्यानिक प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण (सर्टिफिकेसन) को व्यवस्था स्वदेशमै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्ग्यानिक एसोसिएसन नेपाल’का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले विदेशमै प्रमाणीकरण गराउनुपर्ने बाध्यताले व्यवसायीमाथि ठूलो आर्थिक भार परेको उल्लेख गर्दै स्वदेशभित्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण प्रणाली विकास गर्न आवश्यक पहल गर्ने बताउनुभयो।

अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रिया अत्यन्त खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्न व्यवसायीहरूले माग गरेका थिए।

उनीहरूले प्रमाणीकरणमा दिइँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सञ्चालन गर्न पनि आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले यस विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा व्यावहारिक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

व्यवसायीहरूले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान उपलब्ध गराउन र अर्ग्यानिक मल उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा दिनुपर्ने माग पनि गरेका थिए। यस विषयमा समेत सरकारले सकारात्मक रूपमा काम गर्ने प्रधानमन्त्री शाहको भनाइ थियो।

यस्तै, दुई वर्षदेखि रोकिएको अर्ग्यानिक उत्पादन निर्यात अनुदान पुनः सञ्चालनका लागि कानुनी तथा कार्यविधिगत व्यवस्था मिलाउने तयारी सम्बन्धित मन्त्रालयले गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।

छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टि–इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टि–फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनुहुन्थ्यो।

अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना

विश्वभर स्वास्थ्यप्रति बढ्दो सचेतना, रासायनिक अवशेषरहित खाद्यवस्तुको बढ्दो माग र दिगो कृषि प्रणालीतर्फको आकर्षणका कारण अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय बजार तीव्र गतिमा विस्तार भइरहेको छ।

नेपालमा उच्च हिमाली तथा पहाडी भूगोल, न्यून रासायनिक प्रयोग, जैविक विविधता र विशिष्ट हावापानीका कारण अर्ग्यानिक चिया, कफी, अलैंची, अदुवा, बेसार, मह, जडीबुटी, फलफूल तथा अन्य कृषि उत्पादनलाई उच्च मूल्यमा निर्यात गर्ने पर्याप्त सम्भावना छ।

अर्ग्यानिक उत्पादनको माग विश्वभर तीव्र रूपमा बढिरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण स्वदेशमै उपलब्ध गराउन, निर्यात अनुदान पुनः सञ्चालन गर्न तथा उत्पादनदेखि प्रशोधन, ब्रान्डिङ र बजारीकरणसम्म सरकारी सहयोग विस्तार गर्न सके यस क्षेत्रले ठूलो फड्को मार्न सक्छ। साथै अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी पहुँच स्थापित गर्न सकिए नेपाली अर्ग्यानिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता उल्लेखनीय रूपमा बढ्नेछ।

यसबाट नेपालले उच्च मूल्यका अर्ग्यानिक उत्पादन निर्यात गरी ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सक्नेछ। कृषिको मूल्य अभिवृद्धि बढ्नुका साथै ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने, किसानको आम्दानी वृद्धि हुने र कृषि क्षेत्रलाई व्यावसायिक तथा निर्यातमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

अर्ग्यानिक कृषि नेपालका लागि केवल कृषि उत्पादनको सुधार गर्ने माध्यम मात्र होइन, दीर्घकालीन आर्थिक रूपान्तरणको आधार बन्न सक्ने रणनीतिक क्षेत्र पनि हो।

प्राकृतिक स्रोत, जैविक विविधता र स्वच्छ उत्पादन प्रणालीलाई प्रभावकारी रूपमा उपयोग गर्न सके नेपालले अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्दै दिगो आर्थिक विकासको नयाँ सम्भावना सिर्जना गर्न सक्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.