चार महिनाको अवधिमा दुई लाख २३ हजारभन्दा बढी बेटिङ साइट र एप बन्द
सूचना प्रविधिको तीव्र विस्तारसँगै डिजिटल सेवाको पहुँच बढेसँगै अनलाइन सट्टेबाजी (बेटिङ), स्क्यामिङ, अवैधानिक वित्तीय कारोबार, फिसिङ तथा साइबर ठगीजस्ता गतिविधि पनि तीव्र रूपमा फैलिरहेका छन्।
विशेष गरी फुटबल विश्वकप, क्रिकेट प्रतियोगिता तथा अन्य अन्तर्राष्ट्रिय खेलकुदका बेला अनलाइन बेटिङ गर्ने प्रवृत्ति बढ्दै जाँदा ठूलो सङ्ख्यामा नेपाली युवा यसको जालमा पर्ने गरेका छन्।
यसबाट आर्थिक क्षति मात्र होइन, साइबर अपराध, अवैध धन प्रवाह र सामाजिक समस्या समेत बढ्दै गएको भन्दै सरकारले नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ।
यही क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो चार महिनामा अवैधानिक वित्तीय कारोबार तथा अनलाइन सट्टेबाजी सञ्चालन गर्ने दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरिएको जनाएको छ। प्राधिकरणका अनुसार यी वेबसाइट र एपहरू इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँगको समन्वयमा क्रमिक रूपमा ब्लक गरिएका हुन्।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत अनलाइन सट्टेबाजी र स्क्यामिङ नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो।
कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन बेटिङ एप तथा सम्बन्धित वेबसाइटलाई २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था कार्यान्वयन गर्ने उल्लेख छ।
सोही निर्णयअनुसार त्यतिबेला सञ्चालनमा रहेका अधिकांश बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ डोमेन, नयाँ नाम र नयाँ सर्भर प्रयोग गरेर पुनः सञ्चालनमा ल्याउने क्रम नरोकिएकाले निरन्तर निगरानी र कारबाही जारी राखिएको प्राधिकरणले जनाएको छ।
यस वर्षको फिफा विश्वकप सुरु भएपछि बेटिङ गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने आँकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएको थियो।
त्यसपछि प्राधिकरणले यसलाई उच्च प्राथमिकतामा राखी विशेष कार्यदल गठन गरेर २४सै घण्टा निगरानी र वेबसाइट ब्लक गर्ने अभियान सञ्चालन गरेको हो।
प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि विभिन्न इन्टरनेट सेवा प्रदायकका प्राविधिक प्रतिनिधिलाई नै प्राधिकरणमा राखेर वास्तविक समयमै बेटिङ वेबसाइटहरू पहिचान गरी बन्द गर्ने व्यवस्था गरिएको थियो।
उहाँका अनुसार कुनै वेबसाइट सञ्चालन हुन प्रयोग गरिएका युआरएल तथा डोमेन पहिचान गरी आईएसपीमार्फत तत्काल ब्लक गरिन्छ।
महतोका अनुसार यस्ता वेबसाइटको संख्या अत्यधिक हुने भएकाले एक–एक गरेर खोजी गर्न सम्भव हुँदैन। त्यसैले अन्तर्राष्ट्रिय साइबर सुरक्षा संस्था, वित्तीय निगरानी निकाय तथा सम्बन्धित अधिकारप्राप्त संस्थाबाट प्राप्त सूचीका आधारमा बेटिङ तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरू पहिचान गरी बन्द गर्ने गरिएको छ।
साथै, स्वचालित थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर नयाँ वेबसाइटहरूको खोजी (हण्टिङ) गरिने व्यवस्था गरिएको छ। यसका लागि छुट्टै प्राविधिक जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
उहाँका अनुसार एउटा वेबसाइट बन्द गरेलगत्तै अर्को नयाँ डोमेन वा नयाँ नामबाट पुनः सञ्चालनमा आउने चुनौती कायमै छ। त्यसैले नयाँ वेबसाइट खुल्नेबित्तिकै पहिचान गरी तत्काल ब्लक गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ।
प्राधिकरणले आम नागरिकलाई पनि यस्ता अवैधानिक वेबसाइट, बेटिङ एप, स्क्यामिङ प्लेटफर्म वा शंकास्पद डिजिटल सेवाबारे जानकारी भए आफ्नो अनलाइन पोर्टलमार्फत सूचना उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा आवश्यक प्राविधिक परीक्षण गरी सम्बन्धित वेबसाइट वा एप बन्द गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
नेपालमा प्रचलित कानुनअनुसार अनलाइन सट्टेबाजी सञ्चालन गर्नु वा त्यसमा संलग्न हुनु गैरकानुनी मानिन्छ। पछिल्ला वर्षहरूमा नेपाल प्रहरीको साइबर ब्युरोले पनि अनलाइन बेटिङ, डिजिटल वालेटमार्फत हुने अवैध कारोबार तथा क्रिप्टोकरेन्सीमार्फत हुने शंकास्पद वित्तीय गतिविधिमाथि निगरानी बढाउँदै आएको छ।
सरकारले यस्ता गतिविधिले युवामा आर्थिक जोखिम, ऋणको भार, साइबर अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम बढाउने भएकाले सम्बन्धित निकायबीचको समन्वय थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
(समाचारमा प्रयोग गरिएको तस्वीर एआईबाट सिर्जित हो)



प्रतिक्रिया राख्नुहोस्