विश्व समाचार

साइबर ठगी र सेक्सटर्सनमा संलग्नमाथि अमेरिकाको विश्वव्यापी भिसा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले अमेरिकी नागरिकमाथि साइबर ठगी (साइबर स्क्याम) र अनलाइनमार्फत हुने यौन ब्ल्याकमेल (सेक्सटर्सन) बाट अभूतपूर्व जोखिम बढेको जनाउँदै यस्ता अपराधमा संलग्न व्यक्तिहरूमाथि लक्षित गर्दै नयाँ विश्वव्यापी भिसा प्रतिबन्ध नीति लागू गरेको छ।

अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन (इमिग्रेसन एन्ड नेसनालिटी एक्ट) अन्तर्गत लागू गरिएको यो नीतिअनुसार साइबर अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिका साथै उनीहरूका नजिकका परिवारका सदस्यहरू पनि भिसा प्रतिबन्धको दायरामा पर्नेछन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार जारी गरेको वक्तव्यमा साइबर अपराध तथा प्रविधिको माध्यमबाट हुने अपराधमा संलग्न वा त्यसलाई सहयोग गर्ने सबैलाई लक्षित गरिएको उल्लेख गर्नुभयो।

रुबियोका अनुसार विशेष गरी चिनियाँ अन्तरदेशीय आपराधिक सञ्जालले सञ्चालन गर्ने अनलाइन लगानी ठगीका कारण सन् २०२४ मा मात्रै अमेरिकी नागरिकले कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोरेका छन्।

उहाँले यस्ता गतिविधिले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र मानव बेचबिखनलाई समेत प्रोत्साहन गरिरहेको बताउनुभयो।

अमेरिकाले विदेशबाट सञ्चालन हुने ‘सेक्सटर्सन’ अर्थात् यौनजन्य सामग्रीको धम्की दिएर रकम असुल्ने अपराधप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ।

विशेषगरी अमेरिकी बालबालिकालाई लक्षित गरी यस्ता अपराध बढ्दै गएको भन्दै त्यसमा संलग्न अन्तर्राष्ट्रिय सञ्जालविरुद्ध कडा कारबाही गरिने जनाएको छ।

विदेशमन्त्री रुबियोले अमेरिकी प्रशासनले यस्ता आपराधिक सञ्जाल ध्वस्त पार्न उपलब्ध सबै कानुनी तथा कार्यकारी संयन्त्र प्रयोग गर्ने स्पष्ट पार्नुभयो।

उहाँका अनुसार प्रतिबन्ध, फौजदारी अभियोजन, सम्पत्ति जफत, अपराधी प्रत्यर्पणको माग तथा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन निकायसँगको सहकार्यमार्फत साइबर अपराधी सञ्जाललाई निस्तेज पारिनेछ।

यो नयाँ नीति अमेरिकाले विदेशी सुरक्षा जोखिम नियन्त्रणका लागि अघि सारेको व्यापक रणनीतिको हिस्सा हो। यसअघि गत जुलाई १६ मा अमेरिकी विदेश मन्त्रालयले ‘अति वामपन्थी आतंकवादी तथा तिनसँग आबद्ध समूह’सँग सम्बन्धित विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै भिसा प्रतिबन्ध नीति सार्वजनिक गरेको थियो।

त्यो नीतिअनुसार बम विस्फोट, लक्षित हत्या, हिंसात्मक धम्की तथा अन्य संगठित हिंसामार्फत राजनीतिक उद्देश्य हासिल गर्न खोज्ने वा लोकतान्त्रिक संस्थामाथि आक्रमण गर्ने समूहलाई सहयोग गर्ने विदेशी नागरिकमाथि पनि अमेरिका प्रवेशमा रोक लगाइने व्यवस्था गरिएको छ।

राष्ट्रिय सुरक्षा राष्ट्रपति स्मरणपत्र–७ (नेसनल सेक्युरिटी प्रेसिडेन्सियल मेमोरान्डम–७) कार्यान्वयनका लागि ल्याइएको उक्त व्यवस्थाले आतंकवादी गतिविधिलाई समर्थन गर्ने, हिंसात्मक अपराधमा संलग्न हुने, आर्थिक सहयोग वा भर्तीमा भूमिका खेल्ने, तथा हिंसात्मक अतिवादी सञ्जाललाई व्यवस्थापकीय वा आर्थिक सहयोग गर्ने विदेशी नागरिकलाई पनि भिसा प्रतिबन्धको दायरामा राखेको छ।

अमेरिकी प्रशासनले हिंसात्मक, आपराधिक वा आतंकवादी गतिविधिलाई सहयोग गर्ने कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने आफ्नो नीति अझ कडाइका साथ लागू गरिने जनाएको छ। (एएनआई)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.