भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी
पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन् । अस्पताल नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको हो ।
आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् ।
अस्पतालका प्रमुख दिपेश सुवेदीका अनुसार गत आर्थिक वर्षमा १४ हजार ५८१ जनाले सेवा लिएका थिए । तीमध्ये १४ हजार १८१ जना अर्थात् ९७ प्रतिशत भारतीय बिरामी छन् ।
उहाँका अनुसार गर्मी याममा दैनिक ४० देखि ४५ जना र जाडो याममा करिब ८० जना बिरामी उपचारका लागि आउने गर्छन् । जाडोमा नियमित तथा गर्मीमा हरेक बिहीबार मात्रै अस्पतालमा शल्यक्रिया हुन्छ । अस्पतालले गत वर्ष ६२४ जनाको आँखाको शल्यक्रिया गरेको थियो ।
गर्मी मौसममा शल्यक्रियापछि नुहाउन नमिल्ने र संक्रमणको जोखिम बढी हुने भन्ने गलत धारणा फैलिएकाले त्यस समयमा बिरामीको चाप केही घट्ने गरेको सुवेदीले बताउनुभयो ।
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाका सचिव केशव अधिकारीका अनुसार भारतका सीमावर्ती क्षेत्रबाट मात्र होइन, करिब १०० किलोमिटर टाढासम्मका बिरामी पनि उपचारका लागि ठोरी पुग्ने गरेका छन् ।
भारततर्फ नजिकै गुणस्तरीय आँखा अस्पताल नहुँदा दिल्लीलगायतका ठूला सहर पुग्नुपर्ने बाध्यता रहेका बिरामीका लागि ठोरी सहज विकल्प बनेको उहाँको भनाइ छ । “कम शुल्कमा गुणस्तरीय उपचार र छोटो दूरीमै सेवा पाइने भएकाले भारतीय बिरामीको आकर्षण यस अस्पतालतर्फ बढ्दो छ,” अधिकारीले भन्नुभयो ।
स्थानीय समुदायलाई लक्षित गरेर स्थापना गरिएको अस्पताल अहिले सीमापार स्वास्थ्य सेवाको सफल उदाहरण बनेको छ । अस्पतालले नेपाली र भारतीय दुवै समुदायका बिरामीलाई समान रूपमा सेवा दिँदै आएको छ ।
अस्पताललाई अब वातावरणमैत्री ‘ग्रिन अस्पताल’का रूपमा विकास गर्ने तयारी भइरहेको छ । दुई बिघा क्षेत्रफलमा कम्पाउण्ड निर्माणका साथै शल्यक्रियापछि बिरामी र कुरुवाका लागि बसोबास तथा भान्छासहितको सुविधा विस्तार गर्ने काम अघि बढाइएको अधिकारीले जानकारी दिनुभयो ।
भरतपुर आँखा अस्पतालको विस्तारित सेवाका रूपमा सञ्चालित यस अस्पतालले सीमावर्ती क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल–भारत स्वास्थ्य सहकार्यको उदाहरण प्रस्तुत गरिरहेको छ । यसको मुख्य अस्पताल चितवनको भरतपुर महानगरपालिका–१०, बाइपासमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्