जन सरोकार

पाल्पामा जमिन भास्सियो : ३३ घर जोखिममा

फाइल फोटो

पाल्पाको तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुंगा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् ।

सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन् । कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताउनुभयो । पहिरोले सडक बगाएको छ । तीन चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन ।

स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरु जोखिममा रहेको बताउनुभयो । चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो । क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताउनुभयो । उहाँले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताउनुभयो । सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताउनुभयो ।

वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ । जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताउनुभयो । जोखिम क्षेत्रको प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठसहितले अवलोकन गर्नुभएको थियो ।
पहिरो ५० मिटर भन्दा बढी खसेको छ । माथिल्लो भागको सडक पहिरोले तल्लो भागको सडकसमेत बगाएको छ । पहिरोका कारण स्थानीयवासीले घाँसपातका लागि जङ्गल निस्कन समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् । पाल्पाका अधिकांश स्थानमा पहिरोका कारण ग्रामीण क्षेत्रमा यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयवासी पैदल हिँडन बाध्य भएका छन् ।

रिडी–रुद्रवेणी सडक चलेन

गुल्मी– गत तीन दिनदेखि अवरुद्ध बनेको गुल्मीको रिडी–रुद्रवेणी सडक खण्ड अझै सञ्चालन हुनसकेको छैन । उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ पुलक्याम्प नजिकै सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि शनिबार अपराह्नदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

सडक पुनःसञ्चालन गर्न आइतबार बिहानदेखि ब्रेकर र लोडरको सहायताले सडकमा खसेको चट्टान फोर्ने र पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक शालीकराम थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध बनेपछि केही साना सवारी साधन भने वैकल्पिक मार्गका रूपमा रिडी–गौँडाकोट हुँदै मजुवा जाने गरेका छन् भने अन्य ठूला सवारी साधन रुद्रवेणी र रिडी बजारमा अलपत्र परेका छन् ।

सडक पुनः सञ्चालन गर्न आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन थप समस्या हुने बताइएको छ । पानी नपरेको खण्डमा बेलुकासम्ममा सडक सञ्चालन गर्न सकिने प्रहरी सहायक निरीक्षक थापाले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button