वीरगञ्जमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण
समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको पर्सामा स्वास्थ्यकर्मीहरु सहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति अबेर आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालका डा उदयनारायण सिंहले दिनुभएको जानकारी अनुसार सङ्क्रमित हुने स्वास्थ्यकर्मीहरूमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी, गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी, एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी रहेका छन् ।
त्यस्तै गरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिनमा रहेका २३ तथा २८ वर्षीय महिला स्वास्थ्यकर्मी र ३७, ४२, ४५ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।
अन्य नयाँ फेला परेका सङ्क्रमितहरूमा वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका, वीरगञ्ज–१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् ।
वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुष, पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी, पर्सागढी–३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्सा जिल्लामा यसअघि २४२ जना सङ्क्रमित फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालअन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डक आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत र अधिकांशमा कोरोना सङ्क्रमणका लक्षणसमेत रहेको अस्पतालले जनाएको छ । चार जना आइसीयुमा छन् ।
यसेबीच एउटा स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी रहेको पर्साको पर्सागढी नगरपालिकाका एकजना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो । स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब सङ्कलन गरी र रिपोर्ट नआउञ्जेल स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो ।
बिरुवागुठी, हरपुर, पचरुखी, बागेश्वरी तित्रौना, बागवन्ना स्वास्थ्य चौकीका ४० जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको र सोको परीक्षण रिपोर्ट नआईञ्जेल सेवा बन्द गर्नुपरेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियारले बताउनुभयो ।