जन सरोकार

काठमाडौं उपत्यकामा बढ्दो संक्रमण : बजारमा बढ्दो भीडभाड, उच्च शतर्कता आवश्यक

चावहिलस्थित तरकारी बजार

मंगलबार काठमाडौं उपत्यकामा एकैपटक ५३ जना कोरोना संक्रमित भेटिए । पछिल्लो समय बजार खुला भएसंगै बढेको भीडभाडले संक्रमितको संख्या बढिरहेको छ र यातायात संचालन भएयता उपत्यकामा भेटिएका संक्रमितको संख्यामा यो सबैभन्दा बढी हो ।

मंगलबार भेटिएका ५३ जनासंगै काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

३ सय ६ जना संक्रमितमध्ये २७ जना नेपाल प्रहरी मुख्यालयका सुरक्षाकर्मी छन् । काठमाडौं जिल्लामा मात्र संक्रमित संख्या २ सय २८ छ । त्यस्तै ललिपुरमा ५८ र भक्तपुरमा २० जना छन् ।

संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ । केहीलाई भने आइसोलेसन सेन्टरमा राखिएको छ । सरकारले उपत्यकाको तीन वटा ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ । जसमा खरिपाटी, कीर्तिपुर र गणेसमानसिंह अस्पताल रहेका छन् ।

उपत्यकामा देखिएका संक्रमितहरू कस्ता हुन् भन्ने बारे मन्त्रालयले विवरण खुलाएको छैन । यद्यपि संक्रमितहरू धेरै विदेशबाट आएका रहेको बताइएको छ । यस्तै बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन् । उनीहरुले संक्रमण नियन्त्रण बाहिर जान नदिन परीक्षणलाई व्यापक बनाउनुपर्ने सरकारले सुझाव दिँदै आएका छन् ।

मन्त्रालयका विज्ञ सल्लाकारहरूले पनि परीक्षण बढाउन सुझाव दिएका छन् । उपत्यकामा दैनिक संक्रमण बढ्न थालेपछि अहिले मन्त्रालयले मास टेस्टिङको नीति अघि सारेको छ । जसमा उपत्यकामा मात्र दुई सातामा ४५ हजार जनाको परीक्षण गर्ने भनिएको छ ।

यस्तै अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरूमा पनि मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ । प्रवक्ता गौतमले मंगलबार मात्रै तीन वटा नाकाबाट ४८ सय जनाको स्वाब संकलन गरिएको जानकारी दिनुभएको छ ।

ती नाकाहरू थानकोट, फर्पिङ र साँगा रहेका छन् । यी नाकाबाट उपत्यका प्रवेश गर्ने बाहिरी जिल्लाका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो ।

यसै गरी एक सातायता मुलुकभर सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार मंगलबार थप ३ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उहाँ गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्कनुभएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेका छन् ।

सम्बन्धित खबर

Back to top button