विश्व समाचार

चीनमा केन्द्रित हुँदै अमेरिका, युरोपमा सैन्य उपस्थितिको पुनरावलोकन सुरु

संयुक्त राज्य अमेरिकाले युरोपमा रहेको आफ्नो सैन्य उपस्थितिको औपचारिक समीक्षा प्रक्रिया सुरु गरेको अमेरिकी रक्षा उपमन्त्री एल्ब्रिज कोल्बीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको छ।

वासिङ्टनले आफ्नो सुरक्षा रणनीतिको प्राथमिकता क्रमशः इन्डो–प्यासिफिक क्षेत्र र चीनतर्फ केन्द्रित गर्दै नाटोका युरोपेली सदस्य राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी थप वहन गर्नुपर्ने नीति अघि बढाइरहेका बेला यो निर्णय सार्वजनिक भएको हो।

रक्षा उपमन्त्री कोल्बीले सामाजिक सञ्जाल एक्समार्फत रक्षा मन्त्री पीट हेग्सेथले यसअघि घोषणा गर्नुभएको योजनाअनुसार समीक्षा प्रक्रिया सुरु भएको जानकारी दिनुभएको हो।

उहाँका अनुसार यस समीक्षाको मुख्य उद्देश्य युरोपेली राष्ट्रहरूले आफ्नो परम्परागत सुरक्षाको नेतृत्व क्रमिक र स्थायी रूपमा ग्रहण गरिरहेको सुनिश्चित गर्नु हो।

कोल्बीले यो कदमले नाटोलाई अझ सशक्त, न्यायोचित र दीर्घकालीन रूपमा दिगो सुरक्षा गठबन्धन बनाउने प्रक्रियालाई अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार अमेरिकाले आफ्ना सुरक्षा स्रोतसाधनलाई विश्वव्यापी चुनौतीअनुसार पुनः व्यवस्थित गर्ने रणनीति अवलम्बन गरिरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युरोपेली सहयोगी राष्ट्रहरूले आफ्नो रक्षा खर्च पर्याप्त नबढाएको भन्दै पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ।

इरानसँगको द्वन्द्वका क्रममा केही युरोपेली देशहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न नदिएको विषयलाई लिएर उहाँले सार्वजनिक रूपमा आलोचना गर्नुभएको थियो। साथै, नाटो सदस्य राष्ट्रहरूले रक्षा खर्चको लक्ष्य पूरा नगरे अमेरिकाले गठबन्धनमा गर्ने आर्थिक तथा सैन्य योगदान घटाउन सक्ने चेतावनीसमेत दिनुभएको छ।

अमेरिकी प्रशासनले चीनलाई दीर्घकालीन रणनीतिक प्रतिस्पर्धीका रूपमा हेर्दै इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य र कूटनीतिक उपस्थिति सुदृढ बनाउने नीति लिएको छ।

यही रणनीतिअन्तर्गत पेन्टागनले नाटोका अभियानका लागि उपलब्ध गराइने आफ्ना विश्वव्यापी सैन्य स्रोतसाधन क्रमशः घटाउँदै जाने विषयमा सहयोगी राष्ट्रहरूलाई यसअघि नै जानकारी गराइसकेको छ।

अमेरिकाको यो समीक्षा प्रक्रियालाई युरोपेली सुरक्षाको जिम्मेवारी क्रमशः युरोपेली राष्ट्रहरूलाई हस्तान्तरण गर्ने र अमेरिकी सैन्य प्राथमिकतालाई चीन केन्द्रित बनाउने दीर्घकालीन रणनीतिक परिवर्तनका रूपमा हेरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.