मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
हात खुट्टा गल्यो । एक्कासी लामो शवास फेर्न कठिन भयो । शरिर पसिनाले निथु्रक्कै थियो । मस्त निद्राको सानो छोरो उठाउनुको कुनै अर्थ देखिन । अस्पताल पुग्ने कसरी ? आफन्त र नजिकका साथीलाई फोन गरेँ । राति ११ बजेको थियो सायद, त्यसैले होला कसैको फोन उठेन ।
शङ्खमूलमा बस्ने मैले नजिकै निजामती अस्पताल जाने आँट गरें, एक्लै । असार ११ गतेको रात थियो । हातखुट्टा काँपेको बेला स्कुटर चलाउने उपाय भएन । जसोतसो ‘याङगो’ गरेर नयाँवानेश्वरस्थित निजामती अस्पताल पुगेँ । अस्पताल नजिकै बस्दा बिरामी पर्दा छिटो पुगिने र उपचार छिटै पाइने भन्ने आशाले शङ्खमुल टोल वरिपरि डेरा गरी बसेको धेरै वर्ष बित्यो ।
अस्पताल पुगेपछि उपचार पाइहाल्छ, आफन्त आउँदै गर्लान् शरिर कमजोर भए पनि मन यसैगरी कुरा खेलाउँदै थियो । “दिदी अस्पताल आयो !”, याङ्यो राइडर भाइले सम्झाए । उनको काँधको साहारामा ओर्लिएँ र जिब्रो लरबराउदै भनेछु, “भाइ कति दिउँ ?” मसँग नगद थिएन । क्युआर गर्न मोबाइल समाउदा समाउदै हात काँपिरिहेको थियो । त्यो देखेर ती भाइको मनमा मानवता पलाएछ ।
“दिदी पैसा पर्दैन, बरु छिट्टै अस्पतालभित्र जानुहोला ।” धेरै कर गरे पनि उनले पैसा लिन मानेनन् । जीविकोपार्जन गर्न याङ्गो चलाउने भाइले मात्रै मेरा ‘धन्यवाद’ शब्द लिएर फर्किए ।
त्यसपछि निजामती अस्पतालको आकस्मिक कक्षभित्र पुगेँ । हालत उस्तै थियो । खुट्टाले भूइँ टेक्नै मानेको थिएन । आँखा तिरमिराएका थिए । श्वास फेर्न उसै कठिन महशुस भएको थियो । सुनेकी थिएँ, डाक्टरले छोए बिरामीको आधाजसो रोग उसै निको हुन्छ ।
आकस्मिक काउन्टरमा एक कर्मचारी थिइन् । मलाई निकै गाहे भयो भर्ना लिनु न भनेँ । ती कर्मचारीले तपाईका आफन्ती खै ? भन्दै छेउछाउ हेरिन् । भएको बिरामी अगाडि छ तर उनले खोजीरहेकी थिइन् बिरामीका आफन्त । मैले जे कुरा हो त्यही भनेँ, ‘आफन्तीको फोन उठेन, पछि आउँदै गर्नुहुन्छ होला ! मलाई निकै गाहे भएको छ । भर्ना लिनु न ।’
ती कर्मचारीले फेरि चर्को स्वरमा पहिला आफन्त ल्याउनु अनि मात्रै उपचार हुन्छ । तपाईको कागजपत्र कसले बोक्छ ? भर्ना गर्दा हिड्नुपर्छ, औषधि ल्याउनुपर्छ कसले गर्छ ? उनले थुप्रै प्रश्न गरिरहिन्, जसको मसँग जवाफ थिएन । उनको कुराले मन चसक्क भयो । फेरि अनुरोध गरेँ ।
उनले इसारा गर्दै भनिन्, ‘डाक्टरलाई सोध्नु’ । अरु बिरामीको कागजपत्र हेर्दै व्यस्त देखिएका डाक्टरले मलाई हेरेनन् । मैले आफैँले भनेँ, ‘डाक्टर साहेव, मेरो आफन्ती अहिले आउनुभएको छैन । फोन गरेको छु । मलाई श्वास फेर्न गाहे भएको छ । उपचार गरी दिनु न । भर्ना लिनु न ।’
ती डाक्टरले यतिभन्दा पनि मतिर ध्यान दिएनन् । उनले उल्टै रुखो स्वरमा भने–‘फोन गर्दै गर्नु । कुनै न कुनै बेला त उठाउनु होला नि । तपाई एक्लै आएर भर्ना गर्न मिल्दैन । पहिला आफ्नो मान्छे ल्याउनु ।’ डाक्टरको यो व्यवहारले मन झनै पोल्यो फ्याट्ट् वाक्य आएछ, ‘मानौँ, यो संसारमा मेरो मान्छे कोही नै छैन रे के उपचार नै गर्नुहुन्न त ?’
डाक्टर उपचार गर्नका लागि हुन कि विवाद गर्न ? थाहा भएन तर उनी झनै कडा भएर भने, ‘यो संसारमा कोही न कोही त होला नि तपाईको, खोज्नुहोस्, फोन गर्दै गर्नु ।’ म अक्क न बक्क भएँ । ती डाक्टर मलाई एक पटक पनि बिरामीको अवस्था के छ ? भनेर नाडी समाउन समेत आएनन् । उतै बाहिर बस्नु र फोन गर्नु, आफन्ती बोलाउनु अनि आउनु भन्दै गए उनले । आकस्मिक कक्षमा आएको विरामीको लागि त घर/परिवार र आफन्ती भन्दा पनि तत्काल अस्पताल र चिकित्सक नै प्रमुख हुनुपर्ने हो ।
पहिला उपचार अनि प्रक्रिया भन्ने स्वास्थ्य क्षेत्रको धर्म हुनुपर्ने हो । यद्यपि डाक्टरको तीतो व्यवहारले मन अमिलो बनाउँदै म अस्पतालको त्यो चिसो भूइँमा बस्न सकिन । अस्पतालका डाक्टर र कर्मचारीको असंवेदनशील व्यवहार देखेर केही समय अस्पतालको आकस्मिक कक्ष बाहिर रुँदै बसेँ र आँखु पुच्छ्दै एक्लै हिडेरै रातको समयमा कोठातिर लागेँ ।
बिहीबार रातिको त्यो घटना जति पुरानो हुँदैछ, उति मनमा गहकिला प्रश्नहरु उब्जाइरहेको छ । राति साढे ११ बजे त्यो रात्रिकालीन सडकको मूलबाटोमा हिँडिरहेकी बिरामी अचेत अवस्थामा बाटोमा लडेकोे भए र केही दुर्घटना भएको भए अथवा मेरो मृत्यु नै भएको भए ? यसको जिम्मेवार ती डाक्टर वा अस्पताल हुन्थ्यो या मेरो परिवार ?
जनस्वास्थ्य सेवा ऐन, २०७५ मा उल्लेखित परिभाषा अनुसार आकस्मिक स्वास्थ्य सेवा भन्नाले आकस्मिक घटना वा आपत्कालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनुपर्छ ।
ऐनको दफा ३ को उपदफा ३ मा कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी प्रष्ट छ । यति मात्रै होइन, ऐनको दफा ५२ मा कसुर र सजाय शिर्षकमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न इन्कार गरेमा, स्वास्थ्य संस्थाले आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्थामा उपलब्ध हुने आकस्मिक उपचार प्रदान गर्न इन्कार गरेमा कसुर र सजायको भागिदार हुनसक्ने कानुनी प्रावधान छ । यसैगरी कसुर ठहर भएको खण्डमा पीडित पक्षले कसुरदारबाट क्षतिपूर्ति भराउनेसमेतको व्यवस्था किटान गरिएको छ ।
यसैगरी जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम (४) मा आकस्मिक स्वास्थ्य सेवाबारे प्रष्ट उल्लेख गरिएकोछ । नियमावलीको नियम (८) मा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा आएका बिरामीलाई तत्काल आकस्मिक सेवा उपलब्ध गराउनु पर्नेछ र सोको लागि आवश्यक भएमा बिरामीलाई अस्पतालमा भर्ना गर्नु पर्नेछ ।
त्यस्तै, आकस्मिक स्वास्थ्य सेवाका बिरामीलाई उपचार गर्दा लाग्ने खर्च कुनै कारणले बिरामीले तत्काल बुझाउन नसक्ने भएमा त्यस्ता बिरामीलाई समेत आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दिपेन्द्र पाण्डेले आकस्मिक बिरामीलाई चिकित्सकले कुनै पनि आधारमा वा तर्क देखाएर बिरामीको बेवास्ता गर्नु काउन्सिलको आचारसंहिता विपरीत रहेको बताउनुभयो ।
उहाँले काउन्सिललाई डिजिटल लिखित उजुरी दिन पनि सल्लाह दिनुभयो । यद्यपि, यो विषय उजुरी दिएर मात्रै पुग्दैन । यो मानव संवेदनाको मापनको आधार पनि हो ।
अस्पतालका चिकित्सक र ती याङ्गो चलाउने राइडर भाइको मानवीय संवेदना तुलना गर्न लायक छ । राइडर भाइको मानवताले बिरामीसँग पैसा लिन मानेन । यता बिरामीको उपचारका लागि नै समर्पित हुने कसम खाएका ती चिकित्सकलाई बिरामीको उपचार गर्नभन्दा प्रक्रिया पूरा गर्न महत्वपूर्ण लाग्यो ।
केही दिनपछि शरिर तङ्ग्रिएपछि राइडर भाइलाई पैसा दिन फोन गरेकी थिएँ । झापा घर भएका उनको नाम प्रकाश हुमागाइँ रहेछ । एक महिना मात्रै भएको रहेछ याङ्गो चलाउन थालेको । त्यो राति उनले मेरो अवस्था देखेर पैसा लिएनन् ।
भाइ अब म निको भएँ, क्युआर पठाइदिनु भनेँ । ती राइडर भाइले फेरि मानवता दर्साउदै भने, ‘‘कहिलेकाहीँ मान्छेको दुःख पनि देख्नुपर्छ नि दिदी पैसा सबै थोक होइन । अवस्था हेरेर यस्तो सहयोग म अरुलाई पनि गर्दै आएको छु ।’’(रासस)




प्रतिक्रिया राख्नुहोस्