जन सरोकारबिशेष

सुनसरीमा तनाव कायमै : राजमार्ग अवरुद्ध, आगजनी र तोडफोड, पाँच क्षेत्रमा कर्फ्यु

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि जिल्ला अझै तनावग्रस्त बनेको छ। मंगलबार पनि प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

यसै गरी कोशी कटान क्षेत्रका केही पसलमा तोडफोड, लुटपाट र आगजनी भएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शनको प्रभाव विराटनगरसम्म पुगेको छ। बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पकलीदेखि कोशी ब्यारेज क्षेत्रसम्म विभिन्न स्थानमा सडक अवरोध गरिएको छ। प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभर निषेधाज्ञा लागू गरिएको छ। हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु जारी छ।

हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु कायम गरिएको छ।

भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म आवतजावत निषेध गरिएको छ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यु लागू छ।

घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा मुसहर टोल, पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिलसम्म कर्फ्यु कायम राखिएको प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यु क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सार्वजनिक शान्ति भंग हुने गतिविधि नगर्न आग्रह गरेको छ। यो तनावको सुरुआत आइतबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपबाट भएको हो।

झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसपछि स्थानीय प्रशासनले तत्काल दक्षिणी क्षेत्रका संवेदनशील स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर सोमबार कर्फ्यु उल्लङ्घन गर्दै दिनभर प्रदर्शन जारी रह्यो र त्यसको प्रभाव मंगलबार पनि कायम रहेको छ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। त्यसलगत्तै सरकारले गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य–सचिव रहेका छन्।

समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सिफारिस पेश गर्न जिम्मेवारी दिइएको छ।

यद्यपि घटनास्थल देवानगञ्जको अवस्था भने क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। तर जिल्लाका अन्य क्षेत्रमा प्रदर्शन, राजमार्ग अवरोध र छिटफुट हिंसात्मक गतिविधि जारी रहेकाले सुरक्षा सतर्कता अझै उच्च बनाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.