प्रबास

दक्षिण कोरिया सरकारले भिसा अवधि सकिएका कामदारहरुको भिसा थप गर्ने

कोरिया

कोरिया

दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनले गर्दा भिसा अवधि सकिए पनि स्वदेश फर्कन नपाएका कामदारको भिसा थपिदिने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले भिसा थप गरिदिने भएको हो ।

कोरोना महामारीका कारण भिसा सकिएका कामदार स्वदेश फर्कन नपाएपछि तत्कालका लागि यो नियम ल्याइएको र त्यस्ता कामदारहरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।

यसअघि पनि कोरिया सरकारले अवधि सकिएका कामदारको भिसा ५० दिन थप गरिदिएको थियो । तर उक्त अवधिमा पनि आफ्नो देश फर्कन नसकेकाहरूलाई थोरै समयका लागि भिसा थप्दै आएको थियो । तर यसरी थपिएको भिसा अवधिमा कामदारलाई कार्य गर्ने अनुमति भने दिइएको थिएन ।

कोरियाली सरकारको निर्णयसँगै १६ देशबाट ईपीएसमार्फत कोरिया आएर कार्य अवधि सकेका ४० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । हाल दक्षिण कोरियामा ५ हजारभन्दा बढी नेपालीको भिसा अवधि सकिएको छ ।

कोरियाली प्रधानमन्त्री चुङ से क्युनले बुधबार विपद् व्यवस्थापनको बैठकमा बोल्दै नयाँ नियमबारे बताउँदै कोरियाको धेरै गाउँका कृषि फार्महरूमा कामदारको अभाव रहेकाले सरकारले नयाँ नियम ल्याउन लागेको पनि जानकारी दिनुभयो ।

यसैबीच लामो समयदेखि भिसा सकिएर बसेका २ सय ३८ जना नेपाली कोरियन एयरमार्फत बिहीबार नेपाल फर्कंदै छन् । ५ हजारभन्दा बढी नेपाली भिसा अवधि सकिएर स्वदेश फर्कने पर्खाइमा छन् । बिहीबार फर्कनेसहित हालसम्म ७ सय जना कामदार मात्रै स्वदेश फर्कन पाएका छन्  ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.