कार्यढाँचा जारी गरेर भदौ १ गतेदेखि विद्यालय खोल्ने तयारीमा सरकार
गत वर्षको चैत्र ६ गतेदेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा सरकार रहेको छ । बिहिबार सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै छिट्टै मुलुकभरका विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने जानकारी दिनुभएको हो ।
सरकारले यसअघि नै भदौ १ गतेदेखि विद्यालय भर्ना खोल्ने निर्णय गरिसकेको र त्यसलाई व्यवस्थित गर्दै सुरक्षित तवरले विद्यालय संचालनको तयारीका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको मन्त्री डा. खतिवडाले जानकारी दिनुभएको हो ।
मन्त्री डा. खतिवडाले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चलानार्थ शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको समेत जानकारी दिनुभयो ।
यस्तै सरकारले विद्यालय भवन र परिसरमा क्वारेन्टाइन, आइसोलेसन सञ्चालन नगर्ने र त्यस्ता संरचना बनाइ प्रयोग हुन छाडेका विद्यालय, भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने निर्णय गरेको छ ।
त्यसै गरी विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवगमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड १९ र रोकथाम र नियन्त्रण सम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारको निर्णय छ ।