क्रिकेटखेल

आईसीसी विश्वकप लिग २ : नेदरल्यान्ड्स भ्रमणमा नेपाल जितविहीन

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक श्रृंखलामा नेपालले जितविहीन बन्दै आफ्नो यात्रा अन्त्य गरेको छ । बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको हो ।

नेदरल्यान्ड्समा जारी एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा आफूले खेलेको चार खेल मध्ये एक खेलमा पनि जित निकाल्न सकेन । बुधबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो । उसका लागि नोआ क्रोसले सर्वाधिक ७० र कप्तान स्कट एडवार्ड्सले ५७ रनको अर्धशतकीय पारी खेले । नेदरल्यान्ड्स ५६-४ को अवस्थामा हुँदा यी दुईले नेदरल्यान्ड्सको इनिङ्ग उकासेका थिए ।

क्रोस र एडवार्ड्सले पाँचौं विकेटको लागि ११५ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै लोगान भान बीकले २७ रन जोड्दा जाच लायन क्याचेटले १६, बास डी लीडले १३ र ओपनर म्याक्स ओ’डाउडले १२ रन बनाए । नेपालका लागि करण केसीलेचार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीको भागमा समान एक-एक विकेट रह्यो ।

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ रन जोडे । यस्तै करण केसीले २३ रन जोड्दा इशान पान्डेले १६, गुल्शन झाले ११ र भीम सार्कीले १० रन बनाए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेइनले तीन विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले समान दुई-दुई विकेट लिँदा आर्यन दत्तको भागमा एक विकेट रह्यो । शृङ्खलाका चारै खेलमा नेपाल पराजित भएको छ । नेपाल नामिबियासँग खेलको दुई खेलमा क्रमश: ८ विकेट र ३ रनले पराजित भयो भने नेदरल्यान्ड्ससँग क्रमश: ६ विकेट र ५७ रनले पराजित भयो ।

नेपालको घरबाहिर यो लगातार आठौं हार हो । हारसँगै नेपालको अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ । जितपछि नेदरल्यान्ड्सको ३१ खेलमा ३८ अंक भएको छ भने ३२ खेल खेलेको नेपालको ३२ खेलमा २४ अंक रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.