बिशेषराजनीति

चितवनदेखि काठमाडौंसम्म शान्ति र सद्भावको पक्षमा नागरिकको ऐक्यबद्धता

सुनसरी लगायत तराईका केही जिल्लाहरुमा पछिल्ला दिनहरूमा देखिएको सामाजिक तथा साम्प्रदायिक तनावका बीच शुक्रबार चितवन, विराटनगर र काठमाडौंमा शान्ति, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा र्यालीआयोजना गरिएको छ।

चितवन र विराटनगरमा नागरिक समाज, सामाजिक संघसंस्था तथा स्थानीय समुदायको सहभागितामा निकालिएको सद्भाव र्यालीले धार्मिक सहिष्णुता कायम राख्न, कुनै पनि प्रकारको हिंसा र द्वन्द्वलाई अस्वीकार गर्न तथा सामाजिक एकता बलियो बनाउन सबैलाई आह्वान गरेको छ।

सहभागीहरूले विविधतामा एकता नेपालको विशेषता भएकाले कुनै पनि उक्साहट वा अफवाहमा नलाग्न आग्रह गरेका छन्।

यस्तै, काठमाडौंको माइतीघर मण्डलामा विभिन्न विद्यार्थी संगठन, युवा अभियन्ता तथा नागरिक अगुवाहरूको सहभागितामा शान्तिपूर्ण र्याली आयोजना गरिएको छ।

र्यालीमा सहभागीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको पक्षमा ऐक्यबद्धता जनाउँदै विभाजनकारी गतिविधिविरुद्ध राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

र्यालीका क्रममा सहभागीहरूले हिंसाको सट्टा संवाद, सहिष्णुता र आपसी विश्वासलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। साथै सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना र घृणाजन्य अभिव्यक्तिप्रति सचेत रहन तथा कानुनी दायरामा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

देशका विभिन्न स्थानमा एकैसाथ भएका यी कार्यक्रमलाई पछिल्लो समय देखिएको तनावका बीच शान्ति र सद्भावको पक्षमा नागरिकस्तरबाट आएको सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

सहभागीहरूले राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र राज्यका सबै निकायले संयमता अपनाउँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न साझा पहल गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.