गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच आइतबार जनकपुरधाममा भएको वार्तापछि १९ बुँदे समझदारी भएको छ। सहमतिसँगै हिन्दू सम्राट सेनाले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडप, त्यसपछि धनुषा र सिराहालगायत जिल्लामा बढेको तनाव तथा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सरकार वार्तामार्फत समाधान खोज्ने प्रयासमा जुटेको थियो।
पछिल्ला केही दिनदेखि गृहमन्त्री गुरुङ स्वयं मधेशमै बसेर पीडित पक्ष, धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि र विभिन्न हिन्दू संगठनसँग निरन्तर छलफल गरिरहनुभएको थियो।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तापछि हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।
समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्ने, अनावश्यक मुद्दाको पुनरावलोकन गर्ने, आन्दोलनका क्रममा गोली प्रहार भएको घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सहमति भएको छ।
वार्तापछि गृहमन्त्री गुरुङले सरकारले यसअघि संयुक्त हिन्दू मोर्चाले बुझाएको १३ बुँदे मागपत्र तथा थप गरिएका छ बुँदे प्रस्ताव औपचारिक रूपमा ग्रहण गरेको बताउँदै सहमतिका बुँदाहरू कार्यान्वयनका लागि सम्बन्धित निकायमार्फत प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
मागपत्रमा नेपाललाई हिन्दू राष्ट्रका विषयमा संसदीय छलफल गराउने, धार्मिक स्थलहरूको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक तथा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेका व्यक्तिहरूको मुद्दा पुनरावलोकन, घाइतेहरूको उपचार, धार्मिक आयोगको पुनरावलोकन, नागरिकता छानबिन, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, धार्मिक संस्थाको आर्थिक स्रोतको अध्ययन तथा सर्वोच्च अदालतको निर्णयअनुसार ध्वनि विस्तारक (लाउडस्पिकर) सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने विषय समावेश छन्।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका थिए। त्यसपछि धनुषा, सिराहा र आसपासका जिल्लामा प्रदर्शन, निषेधाज्ञा तथा सुरक्षा सतर्कता बढाइएको थियो।
सरकारले प्रभावित क्षेत्रमा अतिरिक्त सुरक्षा परिचालन गर्नुका साथै पीडित परिवारलाई राहत, घाइतेको उपचार र समुदायबीच विश्वास पुनःस्थापित गर्न संवादलाई प्राथमिकता दिएको थियो।
सरकार र धार्मिक संघसंस्थाबीच भएको पछिल्लो सहमतिपछि प्रभावित जिल्लाहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीय प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई आवश्यकता अनुसार क्रमशः खुकुलो बनाउँदै लगेको जनाएको छ।
सरकार र सरोकारवाला पक्षहरूले अब संवाद, सहिष्णुता र आपसी विश्वासमार्फत दीर्घकालीन रूपमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्।
सुनसरी, धनुषा र सिराहालगायत तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक तथा सामुदायिक तनाव क्रमशः साम्य हुँदै गएको छ।




प्रतिक्रिया राख्नुहोस्