राजनीति

किसान आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र शहीद भीमदत्त पन्तले स्थापित गरेको किसान आन्दोलनको विरासतलाई थप सुदृढ र उचाइमा पुर्‍याउन आह्वान गर्नुभएको छ।

नेता अमात्य र शहीद पन्तको स्मृति दिवसका अवसरमा आइतबार जारी गर्नुभएको वक्तव्यमा अध्यक्ष ओलीले नेपालमा किसान अधिकार, सामाजिक न्याय र सामन्तवादविरुद्धको आन्दोलनमा उहाँहरूद्वारा पुर्‍याइएको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव प्रेरणाको स्रोत रहने उल्लेख गर्नुभएको छ।

उहाँले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र सांगठनिक रूपमा बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभएको छ।

सामन्तवादी भूमिसम्बन्धी व्यवस्थाविरुद्ध “जसको जोत, उसको पोत” भन्ने नारासहित किसानलाई आफ्नो हक–अधिकारका लागि संगठित गर्न उहाँले खेलेको भूमिका ऐतिहासिक रहेको अध्यक्ष ओलीको भनाइ छ।

वक्तव्यमा शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषण, अन्याय र उत्पीडनविरुद्ध निर्भीक रूपमा संघर्ष गर्ने क्रान्तिकारी किसान नेताका रूपमा स्मरण गरिएको छ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा जमिनदार र सामन्तहरूको अत्याचार, चर्को कर, बेगार, हलिया तथा कमैया प्रथाविरुद्ध पन्तले गरिब किसानलाई संगठित गर्दै किसान विद्रोहको नेतृत्व गर्नुभएको उल्लेख गर्नुभएको छ।

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि पनि ग्रामीण क्षेत्रमा सामन्ती शोषण अन्त्य नभएपछि भीमदत्त पन्तको नेतृत्वमा सुदूरपश्चिमका किसानहरूले भूमि अधिकार, श्रमको उचित मूल्य र सामाजिक न्यायको माग गर्दै सशक्त आन्दोलन सञ्चालन गर्नुभएको थियो। “कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो” भन्ने नाराले त्यतिबेला किसान आन्दोलनलाई व्यापक ऊर्जा दिएको थियो।

उक्त आन्दोलनले भूमिहीन किसान, हलिया, कमैया तथा गरिब कृषकलाई आफ्नो अधिकारका लागि संगठित हुन प्रेरित गरेको इतिहासमा उल्लेख छ। राज्य र सामन्ती शक्तिको दमनका बाबजुद पन्तले किसानको पक्षमा संघर्षलाई निरन्तर अघि बढाउनुभएको थियो।

अध्यक्ष ओलीले वि.सं. २०१० साल साउन १७ गते राज्य पक्षबाट गोली हानी शहीद बनाइएका भीमदत्त पन्तको हत्या र त्यसपछि किसान आन्दोलनलाई आतंकित पार्ने उद्देश्यले उहाँको टाउको छिनालेर सार्वजनिक रूपमा प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासकै अत्यन्त पीडादायी र अमानवीय अध्यायका रूपमा स्मरण गर्नुभएको छ।

उहाँले लोकतन्त्र, सामाजिक न्याय र किसान अधिकारका लागि शहीद पन्त तथा तुलसीलाल अमात्यले देखाउनुभएको संघर्ष, त्याग र आदर्शबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने उल्लेख गर्दै किसानको सम्मान, उत्पादनमुखी कृषि र सामाजिक समानताको लक्ष्य प्राप्तिका लागि उहाँहरूको विरासतलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.