जल/वातावरण

१२ वटा अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामी भएकाहरुलाई कोरोना संक्रमणपछि निको भएकाहरुको प्लाज्मा दिएर उपचार गर्ने पद्धतिको सुरुवात भएको छ । यसका लागि सरकारले १२ वटा अस्पताललाई अनुमति दिएको छ।

नेपालमा पहिलोपटक यो विधिबाट उपचार त्रिवि शिक्षण अस्पतालमा भएको छ । विराटनगरका ६० वर्षीय संक्रमित पुरूषमा प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । उपचारपछि बिरामीमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले तीन वटा निजीसहित १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको जानकारी दिनुभएको छ ।

अनुमति पाउने सरकारी अस्पतालहरूमा धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन् । त्यस्तै निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी र ह्याम्स अस्पताल छन् ।

अब यी अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्न सक्छन् । तर त्यसको लागि दाता र संक्रमित बिरामी दुबैको स्वीकृति हुनुपर्ने डा. ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार हालसम्म २५ जना व्यक्तिहरूले प्लाज्मा दान गर्न इच्छाएको जनाएका छन् ।

त्यसो त प्लाज्मा दान गर्ने व्यक्तिको लागि परिषद्ले एउटा मापदण्ड तोकेको छ । पहिलो कुरा भनेको प्लाज्मा दान गर्ने व्यक्तिले रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिनु हुँदैन । साथै दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनुपर्छ ।

यस्तै दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ । परिषद्ले प्लाज्मा लिने बिरामीको लागि पनि मापदण्ड तोकेको छ । पहिलो कुरा प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ ।

साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र निजको अवस्था पनि गम्भीर हुनुपर्छ ।बिरामीको अवस्था गम्भीर भएको हुनुपर्छ वा चिकित्सकले बिरामीको अवस्था गम्भीर हुनसक्ने भनेर पुष्टि गर्नुपर्छ ।

अर्को कुरा संक्रमित बिरामीले आफूलाई उक्त विधिबाट उपचार गर्न भनेमात्र अस्पतालहरूले निजको उपचारमा यो विधि प्रयोग गर्न पाउँछन् । यो विधिबाट अस्पतालहरूले संक्रमितको अस्पताल बसाइको अवधि, स्वास्थ्य पर्ने प्रतिकूल असर वा सुधार हुने कुरालाई अध्ययन पनि गर्नुपर्ने हुन्छ ।

सरकारबाट अनुमति पाएका अस्पतालहरूले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न तयारी थालेका छन् । त्यसमध्ये स्वीकृति पाएको टेकु अस्पतालले पनि उक्त विधिबाट उपचार गर्न तयार रहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.