राजनीति

काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गर्नुभएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले मंगलबारदूतावासमा आयोजना गरेको कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।

भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मिरमा मानवाधिकार उल्लङ्घनका धेरै घटना भएका र त्यसको जानकारी अन्तरराष्ट्रिय समुदायलाई समेत भएको बताउँदै काश्मिरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमतसङ्ग्रहका लागि सघाउन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभयो ।

“दक्षिण एशियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मिरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ”, सत्तरी वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको बताउँदै उहाँले भन्नुभयो । सङ्घका महासचिव मञ्जुरत्न शाक्यले वार्ताका माध्यमबाट समस्याको निकास खोज्न भारत सकारात्मक हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.