लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न सहकार्य
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ ।
लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए ।
कार्यक्रममा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने जनाउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक छ भन्नुभयो ।
उहाँले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको जनाउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्छ भन्नुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिले लुम्बिनीलाई साँच्चिकै शान्तिस्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताउनुभयो । उहाँले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीका आस्थाको केन्द्र भएकाले यहाँका विषयमा सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले युनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भए पनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयवासीले सहयोग गर्नुपर्छ भन्नुभयो । लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदूषण, ‘प्रोक्वाक’ले भनेको शान्ति सहरजस्ता विषयमा प्रश्न उठेकाले यस विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले चासो र सहकार्यको आवश्यकता औँल्याउनुभयो ।
उक्त अवसरमा विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहे पनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीले गुनासो गरेकामा दुःख व्यक्त गरेका थिए ।
छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई, विहारका प्रतिनिधिले लुम्बिनी क्षेत्रको विकासमा जोड दिएका थिए । कार्यक्रमम लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक, कोषका विभागीय प्रमुख, विहारका प्रतिनिधिको उपस्थिति थियो ।
छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडाअध्यक्षहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए । कोषका पदाधिकारीसहित नगरपालिकाका उपप्रमुख हरिजन, वडाअध्यक्ष, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुसहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्