चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक बोनम्यारो (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी थालेको छ।
नेपाल सरकारसँगको सहकार्यमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा चिकित्सक र नर्सलाई विशेष तालिम प्रदान गर्ने गरी परियोजना अघि बढाइएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार केही दिनअघि चीनबाट आएको प्राविधिक टोलीले दुई सातासम्म अस्पतालमा बसेर बोनम्यारो प्रत्यारोपण युनिट सञ्चालनका लागि आवश्यक पूर्वाधार, भवनको डिजाइन, विद्युत्, अक्सिजन तथा अन्य प्राविधिक पक्षबारे अध्ययन गरेको थियो।
टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसँग समेत छलफल गरी सुझाव संकलन गरेको थियो।
उहाँका अनुसार नेपाल सरकारसँगको थप कार्यान्वयन सम्झौतापछि निर्माण प्रक्रिया अघि बढ्नेछ। अस्पतालको अन्तरङ्ग सेवा भवनअगाडि पाँच शय्याको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिटसहित तीनतले भवन निर्माण गरिनेछ। सन् २०२६ भित्रै निर्माण सुरु गर्ने चिनियाँ पक्षको तयारी रहेको अस्पतालले जनाएको छ।
यस परियोजनाका लागि चीन सरकारले करिब ३७ मिलियन चिनियाँ युआन (करिब ७० करोड नेपाली रुपैयाँभन्दा बढी) बराबरको सहयोग उपलब्ध गराउनेछ। यसअन्तर्गत भवन निर्माण, अत्याधुनिक उपकरण खरिद र आवश्यक जनशक्तिको तालिमसमेत चीन सरकारले नै व्यवस्थापन गर्नेछ।
नेपालमा बोनम्यारो रोग र उपचारको अवस्था
बोनम्यारो अर्थात् रक्तमासी शरीरका फ्ल्याट हड्डीभित्र रहेको त्यस्तो ऊतक हो, जहाँ रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्युबीसी) र प्लेटलेट्स उत्पादन हुन्छन्।
यही बोनम्यारोमा समस्या आएपछि एप्लास्टिक एनिमिया, ल्युकेमिया (रक्त क्यान्सर), लिम्फोमा, मल्टिपल मायलोमा लगायतका गम्भीर रोग देखिन सक्छन्। यस्ता अवस्थामध्ये धेरै बिरामीका लागि अन्तिम प्रभावकारी उपचार बोनम्यारो प्रत्यारोपण नै मानिन्छ।
नेपालमा हरेक वर्ष सयौँ बिरामीलाई बोनम्यारोसँग सम्बन्धित जटिल रोगको उपचार आवश्यक पर्ने चिकित्सकहरूको अनुमान छ। तर पूर्ण क्षमताको बोनम्यारो प्रत्यारोपण सेवा अभावका कारण अधिकांश बिरामी भारत, चीन, थाइल्यान्ड, सिङ्गापुर वा अन्य मुलुक जान बाध्य हुने गरेका छन्।
हाल नेपालमा रक्त क्यान्सरको किमोथेरापी, लक्षित औषधि (टार्गेटेड थेरापी) तथा सहायक उपचार भने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (हरिसिद्धि), सिभिल सेवा अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लगायतका स्वास्थ्य संस्थामा उपलब्ध छ। तर पूर्ण विकसित बोनम्यारो प्रत्यारोपण सेवा अझै सीमित रहेकाले धेरै बिरामी विदेश जानुपर्ने अवस्था छ।
विदेशमा लाखौँदेखि करोडसम्म खर्च
बोनम्यारो प्रत्यारोपणका लागि भारतका प्रमुख अस्पतालहरूमा सामान्यतया ३० लाखदेखि ६० लाख रुपैयाँ (नेपाली मुद्रा) सम्म खर्च हुने गर्छ। जटिल अवस्था, लामो अस्पताल बसाइ र संक्रमणको उपचार जोडिँदा खर्च ७० लाख रुपैयाँभन्दा बढी पुग्न सक्छ।
थाइल्यान्ड, सिङ्गापुर वा अन्य विकसित मुलुकमा यही उपचारको खर्च प्रायः ८० लाखदेखि एक करोड रुपैयाँ वा त्यसभन्दा बढी पुग्ने चिकित्सकहरू बताउँछन्। उपचार अवधिभर बिरामी र कुरुवाको बसोबास, यात्रा तथा औषधिको अतिरिक्त खर्चले आर्थिक भार अझ बढ्ने गरेको छ।
नेपालमै उपचार हुँदा खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सञ्चालन भएपछि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने मात्र होइन, उपचार खर्च पनि उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
अस्पतालका चिकित्सकका अनुसार नेपालमै सेवा सुरु भएपछि बिरामीले विदेशको तुलनामा निकै कम खर्चमा गुणस्तरीय उपचार पाउनेछन्। यद्यपि सेवा सञ्चालनपछि मात्र शुल्क संरचना तय गरिने भएकाले हाल निश्चित शुल्क सार्वजनिक गरिएको छैन।
चिकित्सकहरूको प्रारम्भिक अनुमानअनुसार नेपालमै प्रत्यारोपण गर्दा विदेशको तुलनामा निकै कम लागतमा सेवा उपलब्ध गराउन सकिनेछ।
चिकित्सक र नर्सलाई चीनमा विशेष तालिम
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार बोनम्यारो प्रत्यारोपण युनिटमा काम गर्ने तीन चिकित्सक र नर्स हाल चीनमा विशेष तालिम लिइरहनुभएको छ।
यसअघि तीन जना स्वास्थ्यकर्मीले छ महिनाको र पाँच जनाले दुई साताको विशेष तालिम पूरा गरिसक्नुभएको छ। आवश्यकता अनुसार थप जनशक्तिलाई पनि चीन सरकारले तालिम उपलब्ध गराइरहेको छ।
उहाँका अनुसार निर्माण सुरु भएको करिब डेढ वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य छ। यो युनिट सञ्चालनमा आएपछि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध हुने दाबी अस्पतालको छ।
विसं २०५१ मा चीन सरकारकै सहयोगमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल नेपालका साथै भारतका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्। बोनम्यारो प्रत्यारोपण सेवा सुरु भएपछि अस्पतालले क्यान्सर उपचारमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्