जल/वातावरण

भरिए काठमाडौं उपत्यकामा कोरोना उपचारका लागि तोकिएका बेड

काठमाडौं उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । अस्पतालमा भर्ना भएका ३३ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ ।

शुक्रबार उपत्यकामा १ सय ६ उपत्यकामा संक्रमण देखिएको छ भने बिहिबार ८७ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म उपत्यकामा करिब ७०० मा सङ्क्रमण देखिएको छ । अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० शय्यामध्ये ४९ श्ययामा बिरामी राखेर उपचार भइरहेको छ ।

यस्तै पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० शय्या भरिएर थप १२ शय्या पनि सङ्क्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पाटनमा भर्ना गरिएका सङ्क्रमित प्रायः लक्षण भएका छन् । तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि शय्या अभाव हुन थालेको छ । कूल ५० शय्यामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो । अस्पतालमा सघन उपचार कक्ष (आइसियु) २० वटामध्ये १५ वटामा सङ्क्रमितको उपचार भइरहेको छ । यस्तै नौ भेन्टिलेटरमध्ये दुई भेन्टिलेटरमा गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले सङ्क्रमित बढ्न थालेपछि अब लक्षण भएका सङ्क्रमितलाई मात्र भर्ना गरेर उपचार गरिने बताउनुभयो । “उपत्यकामा सङ्क्रमित दैनिक बढिरहेका छन् । ती सबै सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अब लक्षण देखिएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्ने हो ।”

उहाँले लक्षण नभएका सङ्क्रमितलाई घरमै आइसोलेसनमा बसेर उपचार गरिने बताउनुभयो । केही दिनयता रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्या, थकाइ लाग्ने, स्वाद तथा गन्ध थाहा नपाउनेजस्ता लक्षण भएका सङ्क्रमित देखिन थालेका छन् ।

यसैगरी वीर अस्पतालमा दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ अस्पताल नतोकिए पनि चार वटा आइसोलेसन शय्याको व्यवस्था गरेको वीरका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितलाई पनि उपचार गर्न परिपत्र गरेपछि आवश्यक व्यवस्था गर्न थालेको बताउनुभयो । उहाँका अनुसार वीरमा अहिले १५ सङ्क्रमितलाई उपचार गर्ने व्यवस्था रहेको छ । “पहिले हामीलाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न भनिएको थिएन । त्यसैले हामीले सङ्क्रमितका उपचारको व्यवस्था गर्नका लागि तयारी गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “तर अहिले मन्त्रालयले नै निर्देशन दिएपछि हामी उपचारको व्यवस्था गर्न जुटेका छौं ।”

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना आइसियु र छ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा १५ जनालाई मात्र उपचार गर्ने सक्ने व्यवस्था रहेको छ । “हाम्रो अस्पताल कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न भनेर तोकिएको अस्पताल होइन”, उहाँले भन्नुभयो, “त्यसैले हामीले धेरै सङ्क्रमित राख्ने सक्ने अवस्था छैन । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न निर्देशन दिए भने हामी तयारी गर्दछौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.