राजनीति

आवश्यक वस्तु स्वदेशमै उत्पादन गरी रोजगारी सिर्जना गर्छौँ : मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री तथा वस्तु स्वदेशमै उत्पादन गरी रोजगारी सिर्जना र आयात घटाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ।

म्याग्दीको धवलागिरी गाउँपालिका समाजले काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो।

“ओझेलमा परेको अनुसन्धान र आविष्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ,” म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले भन्नुभयो, “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ।”

उहाँले कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन र पशुपालनलाई प्रभावकारी रूपमा अघि बढाउन सके म्याग्दीको आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो।

कार्यक्रममा धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौंमा बसोबास गर्ने म्याग्दीवासीबीच जिल्लाको समृद्धिका सम्भावना र आवश्यकताबारे छलफल भएको थियो।

मन्त्री पुनले म्याग्दीमा बढ्दो मेलाजात्राको प्रवृत्तिले किशोरकिशोरीको पढाइ प्रभावित भइरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो। टोलटोलमा लामो समयसम्म मेला आयोजना गर्ने प्रवृत्तिले शिक्षा र सामाजिक क्षेत्रमा नकारात्मक असर पारेको उहाँको भनाइ थियो।

यसैगरी, संघीय सरकारले चालु वर्ष धवलागिरी गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला तथा अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगंगा गाउँपालिकाको चिमखोला जोड्ने दुई नयाँ पदमार्ग सञ्चालनमा ल्याउने मन्त्री पुनले जानकारी दिनुभयो।

बेनी–दरवाङ सडकअन्तर्गत फापरखेत तथा बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्षायाम सकिएलगत्तै सुरु गरिने उहाँले बताउनुभयो। म्याग्दीका रणनीतिक महत्वका सडक आयोजनालाई संघीय सरकारले प्राथमिकता दिने उहाँको भनाइ थियो।

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवंगत म्याग्दीका पर्वतारोही निर्मल पुर्जासहितका पर्वतारोहीको सम्मानमा सरकारले उचित निर्णय लिने पनि मन्त्री पुनले बताउनुभयो।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलगायतले म्याग्दीका विकास सम्भावना र आवश्यक पूर्वाधारबारे मन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.