बिशेषराजनीति

विशेष महाधिवेशनको वैधानिकता : थापा–देउवा आमनेसामने

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देखिएको विवादले पार्टीभित्रको विभाजनको जोखिम बढिरहेका बेला सभापति गगनकुमार थापाले विशेष महाधिवेशन विधानसम्मत र वैधानिक भएको दाबी गर्नुभएको छ।

सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको विधान र सार्वभौम सदस्यको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन सम्पन्न गरिएको बताउनुभयो। उहाँले विशेष महाधिवेशन आवश्यक मात्र नभई पार्टी सदस्यहरूको अधिकारसमेत भएको दाबी गर्नुभयो।

“विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो। यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ,” उहाँले भन्नुभयो।

सर्वोच्च अदालतले विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी निर्णय पुनरावलोकन गर्न आदेश दिएपछि त्यसलाई आफूहरूको वैधानिकता पुनः प्रमाणित गर्ने अवसरका रूपमा लिएको सभापति थापाको भनाइ छ।

विशेष महाधिवेशनको विवादकै बीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बोलाइएको छ। महामन्त्री गुरुराज घिमिरेका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशन, सांगठनिक संरचना, आन्तरिक एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिनेछ।

यसैबीच संस्थापन इतरपक्षले साउन २९ गतेदेखि राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलाको नेतृत्व पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले गरिरहनुभएको छ। उहाँले सर्वोच्च अदालतको पुनरावलोकन आदेशले कांग्रेसभित्र एकताको सम्भावना बढाएको दाबी गर्नुभएको छ।

राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। देउवा साउन २८ गते स्वदेश फर्किने तयारीमा रहेको आयोजक पक्षले जनाएको छ। देउवाको आगमनसँगै कांग्रेसभित्रको शक्ति समीकरण र विशेष महाधिवेशन विवादबारे संस्थापन पक्ष तथा इतरपक्षबीच थप छलफल र राजनीतिक सक्रियता बढ्ने देखिएको छ।

महामन्त्री घिमिरेले पार्टीभित्र हुने भेला तथा कार्यक्रमको उद्देश्य कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउनु हुनुपर्ने बताउनुभएको छ। उहाँले भेला आयोजना हुनु आफैँमा अस्वाभाविक नभए पनि त्यसको औचित्य उद्देश्यबाट निर्धारण हुने स्पष्ट पार्नुभयो।

यसैबीच सभापति थापाले पार्टीभित्रका आन्तरिक मनमुटाव अन्त्य गरी कांग्रेसलाई एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम बनाउन नहुने बताउँदै सत्ता र शक्ति नागरिकको सेवाका लागि प्रयोग हुनुपर्ने धारणा राख्नुभयो।

“हामीले पार्टीको आत्मा नमर्ने गरी यसलाई पुनर्जीवित गर्नुपर्ने छ। हाम्रा अग्रजले कांग्रेस भनेर जुन गौरव गर्थे, त्यस्तै गौरव अहिलेका पुस्ताले पनि गर्न सक्ने बनाउनु हाम्रो जिम्मेवारी हो,” उहाँले भन्नुभयो।

विशेष महाधिवेशनको वैधानिकता, सर्वोच्चको पुनरावलोकन आदेश, संस्थापन इतरपक्षको राष्ट्रिय भेला र पूर्वसभापति देउवाको स्वदेश आगमन एकै समयमा परेकाले कांग्रेसभित्रको आन्तरिक विवाद कुन दिशामा अघि बढ्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

पार्टी नेतृत्वले एकता कायम गर्ने दाबी गरिरहे पनि पछिल्ला घटनाक्रमले कांग्रेसभित्र संस्थापन र इतरपक्षबीचको दूरी अझै कायमै रहेको संकेत गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.