सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको फैसला
सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदलाई हत्या तथा मानवताविरुद्धका अपराधसहितका अभियोगमा सिरियाको एक अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
सिरियाको सरकारी समाचार संस्था (साना)का अनुसार राजधानी दमास्कसस्थित अदालतले मंगलबार असदविरुद्ध उक्त फैसला सुनाएको हो। अदालतले असदका भाइ माहेर अल–असद तथा पूर्वसरकारका उच्च तहका अधिकारीसहित अन्य आठ जनालाई पनि मृत्युदण्डको सजाय सुनाएको जनाएको छ।
अदालतले फैसला सुनाउँदै असद राष्ट्रको सर्वोच्च निर्णयकर्ता रहेकाले राज्यका निकायमार्फत भएका हत्या तथा अन्य गम्भीर अपराधमा उहाँको प्रत्यक्ष जिम्मेवारी रहेको ठहर गरेको जनाएको छ।
सिरियामा सन् २०११ मा सरकारविरुद्ध सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो। त्यसयता दशकौँसम्म चलेको द्वन्द्वका क्रममा लाखौँ मानिस विस्थापित भएका थिए भने ठूलो मानवीय क्षति भएको थियो।
असद नेतृत्वको शासन सन् २०२४ को डिसेम्बरमा विद्रोही समूहहरूले राजधानी दमास्कस नियन्त्रणमा लिएपछि पतन भएको थियो। त्यसलगत्तै असद रुसमा शरण लिनुभएको थियो, जहाँ उहाँ अहिले पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
असद रुसमा निर्वासनमा रहेकाले उहाँविरुद्धको मुद्दाको सुनुवाइ अनुपस्थितिमै गरिएको थियो। उहाँलाई सिरिया फर्काएर सजाय कार्यान्वयनका लागि रुसले सुपुर्दगी (एक्स्ट्राडिसन) गर्ने वा नगर्ने विषय भने अझै स्पष्ट भएको छैन।
संक्रमणकालीन न्याय प्रक्रिया अघि बढ्दै
असद शासनको पतनपछि सिरियामा संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाइएको छ। नयाँ अन्तरिम प्रशासनले गृहयुद्धका क्रममा भएका मानवअधिकार उल्लङ्घन, गैरन्यायिक हत्या, यातना र अन्य युद्ध अपराधका घटनाको अनुसन्धान गर्दै जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ।
सन् २०११ मा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि असद नेतृत्वको सरकारले कठोर दमन गरेको आरोप लामो समयदेखि लाग्दै आएको थियो। संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले पनि असद शासनमाथि युद्ध अपराध र मानवताविरुद्धका अपराध गरेको आरोप लगाउँदै आएका थिए।
असदविरुद्धको पछिल्लो फैसला सिरियामा शासन परिवर्तनपछि पूर्वशासनका जिम्मेवार व्यक्तिलाई कानुनी जवाफदेहिताको दायरामा ल्याउने प्रक्रियाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




प्रतिक्रिया राख्नुहोस्