विश्व समाचार

पुटिनद्वारा रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश

राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई ‘हटाउन’ आफ्नो सेनालाई आदेश दिनुभएको छ । अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले उक्त आदेश दिनुभएको हो ।

भ्लादिमिर पुटिन

किएभले गत मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो ।

“द्वन्द्व सिर्जना गर्नु, मानिसहरूलाई त्रास देखाउनु, रुसी समाजको एकतालाई नष्ट गर्नु दुश्मनको स्पष्ट लक्ष्य हो”, पुटिनले सरकारी अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भन्नुभयो, “निस्सन्देह, रक्षा मन्त्रालयको मुख्य काम भनेको दुश्मनलाई हाम्रो क्षेत्रबाट लखेट्नु हो ।”

क्षेत्रीय गभर्नर एलेक्सी स्मिरनोभले पुटिनसँगको बैठकमा लडाइँ सुरु भएपछि करिब एक लाख २१ हजार मानिस कुर्स्क क्षेत्रबाट भागेको, कम्तीमा १२ जना मारिएको र एक सय २१ भन्दा बढी घाइते भएको जानकारी दिनुभयो ।

कुर्स्कका अधिकारीहरूले १४ हजार बासिन्दा भएको बेलोभ्स्की जिल्लालाई समावेश गर्न आफ्नो निकासी क्षेत्र फराकिलो बनाउँदै गरेको घोषणा गरेका छन् । छिमेककी बेल्गोरोड क्षेत्रले पनि आफ्नो सीमावर्ती जिल्ला क्रास्नोयारुज्स्कीलाई खाली गरिरहेको बताएको छ ।

युक्रेनले यस क्षेत्रमा कम्तीमा १२ किलोमिटरभित्र पसेर ४० किलोमिटर लामो नयाँ मोर्चाका साथ २८ वटा सहर र गाउँ कब्जा गरेको स्मिरनोभले बताउनुभयो ।

यो अभियान रुसी सेनालाई तन्काउन र अग्रपङ्क्तिमा महिनौँको सुस्त रुसी प्रगतिपछि देशलाई अस्थिर बनाउनका लागि भएको युक्रेनका एक शीर्ष अधिकारीले सप्ताहन्तमा बताएका थिए ।

पुटिनले ‘दुःखमा परेका सबैलाई सर्वसम्मत समर्थन’ देखाएर जवाफ दिने भन्दै त्यहाँ लड्नका लागि भर्ती हुने पुरुषहरूको सङख्या बढेको दाबी गर्नुभयो । “दुश्मनले उचित जवाफ पाउनेछ”, उहाँले भन्नुभयो ।

अधिकतम क्षति
आक्रमणले क्रेमलिनलाई अनपेक्षित आश्चर्यचकित बनाएको देखिन्छ । यसलाई समाप्त गर्न रुसी सेनाले रिजर्भ सेना, ट्याङ्क, उड्डयन, तोपखाना र ड्रोनहरू तैनाथ गरेको छ । यद्यपि युक्रेनले रुसका भूभागमा ३० किलोमिटरसम्म प्रवेश गरेको क्रेमलिनले आइतबार स्वीकार गरेको छ ।

केही सेना रुस–युक्रेन सीमाबाट २५ किलोमिटर र ३० किलोमिटर टाढा रहेको टोल्पिनो र ओब्श्ची कोलोदेज गाउँ नजिकै रहेको बताइएको छ ।

“यसको उद्देश्य दुश्मनको स्थिति विस्तार गर्नु, अधिकतम क्षति पुर्याउनु र रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने अवस्थालाई अस्थिर बनाउनु हो”, युक्रेनका एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने । अभियानमा हजारौँ युक्रनी सैनिक सहभागी भएको उनले बताए ।

रुसी रक्षा मन्त्रालयले सोमबार उसको वायु रक्षा प्रणालीले कुर्स्क क्षेत्रमा ११ ड्रोनसहित १८ युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.