राजनीति

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी कार्यविधि गत साता रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

परराष्ट्र मन्त्रालयले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलोपटक ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि-२०८३’ तयार गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त कार्यविधिमाथि रायसुझावका लागि गत साता अर्थ मन्त्रालयमा पठाइसकिएको छ । तर, प्रतिनिधिसभाको सोमबारको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा शव फिर्तीका लागि आवश्यक कार्यविधि हालसम्म परराष्ट्र मन्त्रालयले बनाउन नसकेको विषय उठेको थियो ।

अर्थ मन्त्रालयको राय प्राप्त भएपछि कार्यविधिलाई आवश्यक प्रक्रियासहित अघि बढाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । कार्यविधिमा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा भिजिट भिसामा गई रोजगारीमा संलग्न भएका नेपाली नागरिक सडक दुर्घटनामा परी अङ्गभङ्ग वा अशक्त भएका, कोमामा उपचाररत रहेका तथा विद्यार्थी भिसामा गई विभिन्न समस्यामा परेका नागरिकलाई नेपाल ल्याउने विषय समेटिएको छ ।

त्यसैगरी, विभिन्न देशमा जाने क्रममा ट्रान्जिटमा समस्या परी अलपत्र परेका तथा अन्य कारणले विदेशमा समस्यामा परेका नेपाली नागरिकको आकस्मिक उद्धार गरी नेपाल पठाउने र अलपत्र परेका शव नेपाल ल्याउने विषयलाई पनि कार्यविधिले समेटेको छ ।

कार्यविधि स्वीकृत भएपछि आकस्मिक उद्धार तथा शव फिर्तीका लागि विनियोजित बजेटबाट आवश्यक काम अघि बढाउन सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.