राजनीति

कांग्रेसलाई पुनर्गठित गर्नुपर्छ : सहमहामन्त्री डा सङ्ग्रौला

नेपाली कांग्रेसकी सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार धारणा राख्दै सहमहामन्त्री डा सङ्ग्रौलाले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत तथा देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो ।

पार्टीको १५औँ महाधिवेशन घोषित कार्यतालिका अनुसार आगामी असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने सहमहामन्त्री डा सङ्ग्रौलाको भनाइ थियो ।

उहाँले ‘जरा अभियान’ले आम नागरिकमा कांग्रेसप्रतिको आशा जीवितै रहेको बताउनुभयो । नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम समयमै सक्दै महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचार–प्रसार लगायतका उपसमितिहरू अविलम्ब गठन गर्न उहाँले माग गर्नुभयो ।

प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले सङघीयतामाथि नै प्रश्न उठाएकाले यस विषयमा नेपाली कांग्रेस स्पष्टसँग अघि बढ्नुपर्ने सहमहामन्त्री डा सङ्ग्रौलाले उल्लेख गर्नुभयो ।

विदेशमा रहेका लाखौँ नेपालीको मताधिकारको ग्यारेन्टी र जनसम्पर्क समितिको सुदृढीकरणका लागि स्पष्ट नीति पार्टीले ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

लामो समयदेखि तदर्थवादमा चलेका नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घलगायतका भ्रातृ संस्थाको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा लैजानुपर्ने सहमहामन्त्री डा सङ्ग्रौलाले बताउनुभयो ।

उहाँले कूटनीतिक पहल गरी ग्यास आयात र भण्डारण दोब्बर बढाउन, विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिन र मुख्य सिजनमा मल नपाएर समस्यामा परेका किसानलाई अनुदानको मल उपलब्ध गराउने विषयमा कांग्रेसले तत्काल सरकारसँग पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.