विश्व समाचार

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान आदेश

पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि राजधानी इस्लामाबादस्थित निजी अस्पताल लैजान तथा परिवारका सदस्यसँग साप्ताहिक भेटघाट गर्न दिन मङ्गलबार आदेश दिएको छ ।

तीन सदस्यीय इजलासले खानलाई आगामी दिनमा शिफा इन्टरनेसनल अस्पतालमा विशेषज्ञ चिकित्सक तथा उहाँका निजी चिकित्सकमध्ये एक फैसल सुल्तानसहितको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको हो ।

अदालतले जेल प्रशासनलाई खानलाई परिवारका सदस्यसँग साप्ताहिक भेटघाट तथा आफ्ना छोरासँग टेलिफोनमा कुराकानी गर्न अनुमति दिनसमेत निर्देशन दिएको छ । खानको स्वास्थ्य अवस्था र निजी चिकित्सक तथा परिवारका सदस्यलाई भेट्न नदिइएको विषयमा लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।

खानका वकिल सलमान अक्रम राजाका अनुसार, स्वास्थ्य सेवामा पहुँच पाउनु उहाँको संवैधानिक अधिकार भएकाले अदालतले अस्पताल लैजान आदेश दिएको हो । उहाँले अस्पतालमा उपचारका क्रममा समर्थकलाई भीड नगर्न आग्रह गर्नुभएको छ ।

सम्भावित सुरक्षा खतराको सूचनापछि पाकिस्तानले यस वर्षको सुरुदेखि खानलाई राखिएको जेलमा आगन्तुकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि खानले अस्पताल स्थानान्तरण तथा निजी चिकित्सक, परिवार र वकिलसँग भेटघाटको अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिनुभको थियो ।

यसअघि आँखाको समस्याका कारण खानलाई पटकपटक सरकारी अस्पताल लगिएको थियो । गत जनवरीमा उहाँको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमेको परिवारले दाबी गरेको थियो भने सरकारले उक्त दाबी अस्वीकार गरेको थियो । पछि अधिकारीले उहाँको दृष्टिमा सुधार आएको बताएका थिए ।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बन्नुभएका खान भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सन् २०२३ देखि जेलमा हुनुहुन्छ । संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि सन् २०२२ अप्रिलमा उहाँ प्रधानमन्त्री पदबाट हट्नुभएको थियो ।

कानुनी समस्याका बाबजुद खान पाकिस्तानको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आउनुभएको र उहाँको समर्थनमा ठूलो जनमत रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.