गोरखामा आठ शव फेला, दुई झोलुङ्गे पुल बगायो
भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला पारेको हो ।
गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ । यस्तै, गण्डकी–६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारमा एउटा, गण्डकी–१ बुट्टारस्थित नदी किनारमा एउटा तथा गण्डकी–४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ ।
यसैगरी गण्डकी–७ ज्यामिरेघाटमा एक पुरुषको शव र सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारमा तीन पुरुषको शव फेला परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
यसैगरी गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाभित्र पनि बाढी पसेको छ । त्यहाँ रहेका मजदुर र उपकरणलाई सुरक्षित ठाउँमा सारिएको सो आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिनुभयो ।
भोटेकोशीमा गएको बाढीका कारण पृथ्वीराजमार्गसँग गोरखा जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ । यस्तै, एउटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । जिल्लाको गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।
त्यस्तै वडा नं ७ इटार र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल समेत बगाएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । बाढीले सहिदलखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्णरुपमा क्षति गरेको छ ।
गण्डकी गाउँपालिका–७ स्थित धवादीघाटको पुलसँगै हिक्लुङघाट र पृथ्वी राजमार्गको फिस्लिङ पुल क्षतिग्रस्त बनाएको छ । यस्तै बेनीघाट सिउरेनटार जोड्ने मोटरेबल पुलमा पनि आंशिक क्षति पुगेको छ ।




प्रतिक्रिया राख्नुहोस्