खोज, उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ।
राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बाढीपछिको अवस्थाबारे जानकारी लिनुका साथै प्रभावित नागरिकको खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री शाहले रसुवाको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले प्रभावित नागरिकको उद्धार, राहत र सहयोगका लागि राज्यका सबै संयन्त्र परिचालन गरिसकेको तथा आवश्यक सबै सहयोग जुटाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो।
यसअघि राष्ट्रपति पौडेलले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको थियो।
उहाँले विपद्को यस कठिन घडीमा उद्धार र राहत कार्यलाई तीव्र बनाउन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई समन्वयात्मक रूपमा परिचालित हुन आह्वान गर्नुभएको थियो।
साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउँदै आवश्यक समन्वय र सहयोगमा जुट्न पनि आग्रह गर्नुभएको थियो।




प्रतिक्रिया राख्नुहोस्