चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी तथा देवघाटमा गरी ५९ शव भेटिएका छन् ।
समाचार अनुसार कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा तथा मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक/एक र देवघाटमा चार शव भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा ल्याउने क्रम जारी छ । महिला/पुरुष छुट्याउन कठिन भएको उहाँले बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव राख्ने स्थानको खोजी गर्न लागिएको जानकारी दिनुभयो । अहिलेसम्म आएका शवसमेत राख्न सक्ने अवस्था नरहेकाले स्थानको खोजी गरिएको उहाँले बताउनुभयो । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने काम गरिरहेको छ ।
बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।
धादिङलगायतका क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएका कारण सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयय चितवनले सूचना जारी गरी जानकारी दिएको छ । यससँगै नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्