‘प्रधानमन्त्री राहत कोष’को नाममा ठगी, सतर्क रहन प्रहरीको आग्रह
विपद्को कठिन घडीमा बाढीपहिरो पीडितलाई सहयोग गर्ने क्रम जारी रहँदा केही व्यक्तिले आफूले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको स्क्रिनसट सार्वजनिक गर्दै अन्यलाई पनि सक्दो सहयोग गर्न आह्वान गरिरहेका छन्।
उनीहरूले विपद्को समयमा सहयोग गर्न कसैले पनि कञ्जुस्याइँ नगर्न आग्रह गर्दै पीडितप्रति मानवीय संवेदना देखाउन अपिल गरेका छन्।
यता, यही मानवीय भावनामाथि खेलवाड गर्दै केही व्यक्तिले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ को नाम दुरुपयोग गरी ठगी गर्न थालेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत राहत कोषको नाम प्रयोग गरेर व्यक्तिगत बैंक खाता तथा ई–वालेटमा रकम जम्मा गर्न आग्रह गर्ने, नक्कली विवरण सार्वजनिक गर्ने र फर्जी राहत अभियान सञ्चालन गर्ने गतिविधि बढेको पाइएको छ।
यस सम्बन्धमा प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गर्दै आधिकारिक सरकारी खाताबाहेक अन्य कुनै व्यक्तिगत खाता वा डिजिटल वालेटमा रकम नपठाउन आग्रह गरेको छ।
विपद्को बेला पीडितलाई सहयोग गर्नु प्रत्येक नागरिकको मानवीय दायित्व भए पनि त्यही संवेदनशील अवस्थाको दुरुपयोग गरी ठगी गर्ने कार्य अत्यन्त निन्दनीय र अमानवीय भएको सरोकारवालाले बताएका छन्।
उनीहरूले राहतका नाममा हुने यस्ता ठगीका घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायसँग माग गरेका छन्।
साथै, सहयोग गर्न चाहने नागरिकलाई आधिकारिक सरकारी निकाय वा विश्वसनीय संस्थामार्फत मात्र राहत रकम उपलब्ध गराउन आग्रह गरिएको छ।
विपद्को समयमा सानो सहयोगले पनि पीडितको जीवनमा ठूलो राहत पुग्ने भएकाले सक्दो सहयोग गर्न सबैलाई अपिल गरिएको छ। तर, सहयोग गर्ने क्रममा ठगीको जालोमा नपरी आधिकारिक माध्यमबाट मात्रै रकम जम्मा गर्न प्रहरीको आग्रह छ ।




प्रतिक्रिया राख्नुहोस्