दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्रीमा उत्तर कोरियाको चेतावनी
अमेरिकाले दक्षिण कोरियालाई क्षेप्यास्त्र बिक्री गर्ने तथा उत्तर कोरियामा मानवअधिकार र सूचना प्रवाहसम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने योजना अघि बढाएपछि प्योङयाङले त्यसको ‘शक्तिशाली प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्रीले क्षेत्रीय सुरक्षा वातावरणमा पार्ने प्रतिकूल प्रभाव बेवास्ता गर्न नसकिने बताएका छन् । उनको भनाइ सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले बिहीबार सार्वजनिक गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले दक्षिण कोरियालाई करिब १२ करोड ५० लाख अमेरिकी डलरमा एआइएम–९ एक्स साइडविन्डर ब्लक–२ क्षेप्यास्त्र र सम्बन्धित उपकरण बिक्री गर्ने सम्भावित प्रस्ताव स्वीकृत गरेको छ । प्योङयाङले यसलाई आफूविरुद्ध वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरता भनेको छ ।
उत्तर कोरियामा मानवअधिकार उल्लङ्घनको अभिलेखीकरण तथा सूचना प्रवाहसँग सम्बन्धित संस्थालाई अमेरिकाले लाखौँ डलर सहयोग गर्ने योजनाको पनि प्योङयाङले विरोध गरेको छ । अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरोले गत साता त्यस्ता संस्थाबाट प्रस्ताव आह्वान गरेको थियो ।
उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकी कदम आफ्नो सामाजिक व्यवस्थामा अस्थिरता सिर्जना गर्ने प्रयास भएको दाबी गर्दै शत्रुतापूर्ण गतिविधिको ‘गम्भीर, तत्काल र शक्तिशाली जवाफ’ दिने चेतावनी दिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग तनाव कम गर्न दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास फिर्ता लिनेसहित विभिन्न प्रस्ताव अघि सार्नुभएको थियो । तर प्योङयाङबाट त्यसको सकारात्मक प्रतिक्रिया आएको छैन ।
दुई कोरिया प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन् । सन् १९५०–१९५३ को कोरियाली युद्ध युद्धविराममा टुङ्गिए पनि औपचारिक शान्ति सम्झौता हुन सकेको छैन ।




प्रतिक्रिया राख्नुहोस्