जन सरोकार

भोटेकोशी बाढी : काभ्रेका ५२ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण त्यस क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ५२ जना नागरिक सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले हालसम्म जिल्लाका ५२ जना सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको नामावलीको सूची सार्वजनिक गरेको हो ।

बुधबार नै एक सूचना जारी गर्दै कार्यालले बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारसँग जानकारी गराउन सार्वजनिक अपिल गरेको थियो ।

त्यसक्रममा हालसम्म सम्पर्कमा नआएका व्यक्तिका परिवार तथा आफन्तले आफ्ना मानिस सम्पर्कविहीन भएको जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार ५२ जना बाहेकका सम्पर्कविहीन अवस्थामा रहेको चार जना सम्पर्कमा आइसकेका छन् । प्रजिअ अधिकारीले भन्नुभयो, “हामी थप ‘भेरीफिकेशन’ गर्दैछौँ, थप कसैको परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा हुनुुहन्छ भने छिट्टै जानकारी गराउन अनुरोधसमेत गरिरहेका छौँ ।”

उक्त बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका काभे्रपलाञ्चोकका नागरिकको अवस्था बुझ्न कार्यालयले बुधबार सूचना जारी गर्दै सुरक्षित भए/नभएको तथा आफन्तसँग सम्पर्कमा रहे/नरहेको जानकारी गराउन कार्यालयले अनुरोध गरेको हो ।

यस्तै सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरुको अवस्था बुझी जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोक, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमासमेत जानकारी गराउन आग्रह गरिएको छ ।

कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन केन्द्रको फोन नं १२३४ मा जानकारी गराउन वा ९७४३९६८८३६ र ९८५१२३७७७ मा ह्वाट्सएप गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.