बाढीपीडितका लागि विभिन्न पालिकाहरूबाट चार करोड ४३ लाखभन्दा बढी सहयोग घोषणा
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवालगायत जिल्लाका नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि देशका विभिन्न स्थानीय तहले आर्थिक सहयोग घोषणा गरेका छन्।
हालसम्म सार्वजनिक भएका निर्णयअनुसार विभिन्न पालिकाबाट करिब रु चार करोड ४२ लाख ७० हजार सहयोग उपलब्ध गराइने भएको छ। ललितपुरका तीन स्थानीय तहले सबैभन्दा बढी रु एक करोड ८० लाख सहयोग गर्ने घोषणा गरेका छन्।
ललितपुर महानगरपालिकाले रु एक करोड, गोदावरी नगरपालिकाले रु ५० लाख र महालक्ष्मी नगरपालिकाले रु ३० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेका हुन्। महालक्ष्मी नगरपालिकाले जनप्रतिनिधिको एक महिनाको सेवासुविधा तथा कर्मचारीको सात दिनको पारिश्रमिकबाट उक्त रकम जुटाउने जनाएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब सुविधा र कर्मचारीको तलबको १० प्रतिशत गरी कुल ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जममा गर्ने निर्णय गरेको छ।
साथै नगरपालिकाले राहत तथा उद्धारका लागि दुई वटा एम्बुलेन्स र १० जना नगर प्रहरीसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
यसै गरी काठमाडौंका नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पतालसँग समन्वय गरी १५ जना घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ।
कास्कीको पोखरा महानगरपालिकाले रु ४५ लाख र मादी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने निर्णय गरेका छन्। पोखरा महानगरपालिकाले आर्थिक सहयोगसँगै एम्बुलेन्स, स्वास्थ्यकर्मी, राहत सामग्री तथा तालिमप्राप्त नगर प्रहरीसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ।
इलामका चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख सहयोग गर्ने भएका छन्। चुलाचुली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको पारिश्रमिकबाट रकम सङ्कलन गर्ने निर्णय गरेको छ भने माई नगरपालिकाले जनप्रतिनिधिको १५ दिनको सेवासुविधा, कर्मचारीको दुई दिनको पारिश्रमिक तथा विपद् व्यवस्थापन कोषबाट रकम थप गरी सहयोग उपलब्ध गराउने जनाएको छ।
बागलुङका बागलुङ, गलकोट र जैमिनी नगरपालिका तथा ताराखोला, बडिगाड र काठेखोला गाउँपालिकाले गरी रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन्।
गलकोट नगरपालिकाले रु छ लाख ७० हजार, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाले जनही रु पाँच लाख, ताराखोला र काठेखोला गाउँपालिकाले जनही रु दुई लाख तथा जैमिनी नगरपालिकाले रु एक लाख सहयोग गर्ने निर्णय गरेका छन्।
सिराहाको लहान नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको पारिश्रमिकबाट रु ११ लाख सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले रु १० लाख सहयोग गर्ने घोषणा गर्दै जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको एक दिनको पारिश्रमिकसमेत राहत कोषमा उपलब्ध गराउने जनाएको छ।
स्थानीय तहहरूले आर्थिक सहयोगसँगै उद्धार टोली, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेका छन्। बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा स्थानीय तहको सक्रिय सहभागिताले विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हालसम्म सार्वजनिक भएका निर्णयअनुसार विभिन्न स्थानीय तहबाट करिब रु ४ करोड ४२ लाख ७० हजार आर्थिक सहयोग घोषणा भइसकेको छ भने अधिकांश पालिकाले आर्थिक सहयोगसँगै उद्धार, स्वास्थ्य सेवा तथा राहत सामग्रीसमेत परिचालन गरेका छन्।



प्रतिक्रिया राख्नुहोस्