पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा
रसुवाको गोसाइँकुण्डमा तीर्थयात्राका लागि जाने क्रममा बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिकाका नागरिक खोज्दै नगरप्रमुख विवश चिन्तन नवलपुरको अस्पताल आउनुभएको छ ।
पालुङटारबाट तीनवटा गाडी तीर्थयात्रामा गएको बखत ३८ जना सवार एउटा बस त्रिशूलीको बाढीमा परेको थियो । उक्त बसबाट छ जना नगरवासी जोगिएका भए पनि ३२ जना बेपत्ता भएका नगरप्रमुख चिन्तनले बताउनुभयो ।
त्रिशूली नदीबाट बेपत्ता भएका नागरिक खोज्दै शनिबार गोरखाको पालुङटारका नगरप्रमुख चिन्तन नवलपुरको विभिन्न अस्पतालमा पुगेको बताउनुभयो ।
“हाम्रो नगरपालिकाका जनता गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा दुईवटा इभी र एउटा बसमा जानुभएको थियो”, उहाँले भन्नुभयो, “एउटा इभी कट्न सफल भयो, अर्को फर्किएर आउन सफल भयो भने बसलाई बाढीले बगायो ।”
बससँगै बेपत्ता हुनुभएका ३२ जनामध्ये ३० जना पालुङटारका र दुई जना उहाँहरूकै आफन्त भानु नगरपालिकाका रहनुभएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।
“एउटै टोलबाट धेरै जना बेपत्ता हुनुभएको छ”, उहाँले भन्नुभयो, “धेरै जना बेपत्ता हुनुभएका नगरवासीको त खोज्ने जाने आफन्त पनि हुनुहुन्न, छोरीज्वाइँ आएर घर कुर्नुभएको छ ।”
पालुङटारबाट बेपत्ता भएका ३२ जनामध्ये तीन जनाको शव नवलपुरमा भेटिएको उल्लेख गर्दै नगरप्रमुख चिन्तनले अझै २९ जनाको अवस्था थाहा पाउन नसकिएको बताउनुभयो । हराएका नगरवासीको खोजी गर्न नगरपालिकाको सम्पूर्ण स्रोतसाधन प्रयोग भएको भन्दै नगरप्रमुख चिन्तनले कतिपय ठाउँमा निजी क्षेत्रका सवारीसाधनसमेत प्रयोग गरिएको जानकारी दिनुभयो ।
नवलपुरतर्फ नारायणी नदीले बगाएर ल्याएको शव जिल्लाको विभिन्न अस्पतालमा राखिएको थाहा पाएपछि आफू नागरिकको खोजीका लागि आएको उहाँले बताउनुभयो ।
पालुङटारका नगरप्रमुख जस्तै विभिन्न जिल्लाबाट आफ्ना आफन्तको खोजी गर्न नवलपुरका विभिन्न अस्पतालमा पीडितका परिवार आउनुभएको छ ।
प्रहरीले सञ्चालन गरेको बेवारिसे शव पहिचान सम्बन्धमा सूचना एवं सहायता कक्षमा आफन्तको खोजीका लागि सम्पर्क गर्ने नागरिकको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ । नाम टिपाउँदै शवहरूको फोटो हेरेर आफन्तको पहिचानका लागि अस्पतालमा भीड लागेको छ ।
यसैबीच, आफन्तहरूको खोजी तथा पहिचानका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा पुगेका पीडितहरूका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले निःशुल्क भोजनको व्यवस्था गरेको जनाएको छ ।
बाढीबाट मृत्युवरण गरेका नागरिकको शव पहिचान गर्न परिवारजन तथा आफन्तका लागि बिहान र बेलुकाको खाना तथा दिउँसोको खाजाको व्यवस्थापन गरिएको सङ्घका महासचिव वासुदेव गिरीले बताउनुभयो । अस्पतालको चमेनागृहमार्फत खाना खुवाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्