राजनीति

चीनले भन्यो, के के सहायता चाहिन्छ सूची दिनु

चीनले रसुवा बाढी पीडितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणका लागि आवश्यक सहयोग प्याकेज प्रस्ताव गरेको जानकारी दिएको छ। साथै, विपत्तिपछि उद्धार तथा खोज कार्यमा चिनियाँ उद्धार टोलीसमेत परिचालित भएको जनाएको छ।

शनिबार नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको टेलिफोन संवादमा चीनका विदेशमन्त्री वाङ यीले भदौ १० गते तिब्बत क्षेत्रमा गएको हिमस्खलन र त्यसपछि उत्पन्न विपत्तिबारे छलफल गर्दै नेपाललाई आवश्यक सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताएका हुन्। चीनको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ।

विदेशमन्त्री वाङले भन्नुभयो, “हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ। यो छिट्टै कार्यान्वयन हुनेछ।”

चीनका अनुसार नेपाललाई उपलब्ध गराइने सहायता प्याकेज कार्यान्वयनको प्रक्रियामा रहेको छ। यसअन्तर्गत आपत्कालीन नगद सहायता, मानवीय राहत सामग्री तथा पुनःस्थापना र पुनःनिर्माणमा आवश्यक सहयोग समावेश रहनेछ।

चीनले विपत्तिपछि सीमावर्ती क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि चिनियाँ उद्धार टोली परिचालन गरेको र नेपालसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराएको पनि जनाएको छ।

हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र डुबानबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो।

विज्ञप्तिअनुसार विदेशमन्त्री वाङले केरुङ–रसुवा सीमा नाका आसपासको क्षेत्रमा आएको गम्भीर विपत्तिले ठूलो जनधनको क्षति, मानिस बेपत्ता हुनु तथा भौतिक संरचनामा व्यापक नोक्सानी पुगेको उल्लेख गर्दै नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.