जन सरोकारबिशेष

केही मिनेटमै उजाडियो रसुवा : कल्पनाभन्दा परको बाढी, बाँच्नका लागि पहाडतिरको दौड

भदौ १० गते बुधबार बिहान रसुवाको स्याफ्रुबेँसीमा दिन अन्य दिनझैँ सुरु भएको थियो। आकाश खुलेको थियो। घर–घरमा चिया–नास्ताको तयारी हुँदै थियो। कोही काममा निस्कने तरखरमा थिए भने कोही दिनभरको योजनामा व्यस्त थिए।कसैले केही मिनेटपछि आफू बसेको बस्ती नै इतिहास बन्ने कल्पना गरेका थिएनन्। तर केही क्षणमै सबै बदलियो।

एआई सिर्जित नमूना चित्र

पहिला पहाड गर्जिएजस्तो ठूलो गड्याङगुडुङ आवाज सुनियो। मानिसहरू घरबाहिर निस्केर माथितिर हेर्न थाले। तर माथिबाट देखिएको दृश्य उनीहरूले जीवनमा कहिल्यै नदेखेको थियो।

ढुंगा, हिलो र पानीको विशाल लहर पहाड नै भत्किएर खस्दै आएको जस्तो देखिन्थ्यो। त्यसपछि कसैसँग सोच्ने समय थिएन। भाग्नुबाहेक अर्को विकल्प थिएन।

तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि एक्कासि उर्लिएको भोटेकोशीको भेलले सामान्य बाढीको स्वरूप लिएको थिएन। प्रत्यक्षदर्शीका अनुसार पानीले नदीको सीमाभित्र बग्ने नियम मानेन।

बस्ती, होटल, सडक, पुल र मानिसलाई एउटै भेलमा मिसाउँदै अघि बढ्यो। कतिपयले बाढी नदीबाट होइन, आकाशबाट उडेर आएको जस्तो लागेको बताए।

स्याफ्रुबेँसीकी दावा छेङ्दुली त्यही क्षण आफ्नो छोरालाई च्यापेर पहाडतिर दौडिनुभयो। तर केही पाइला नचल्दै बाढीले उहाँलाई भेटिहाल्यो। “दौडिँदा लडेँ, त्यही बेला बाढीले भेटिहाल्यो,” उहाँले सम्झनुभयो।

भोटेकोशीको उर्लंदो भेलले उहाँलाई तीन पटकसम्म तलमाथि पार्दै बगायो। मानिस, घर र संरचनालाई खेलौनाझैँ उछिट्ट्याउँदै आएको पानीले अन्ततः उहाँलाई बस्तीभन्दा निकै तलको पाखामा पुर्‍यायो। त्यहाँ पुगेर एउटा रुखको जरा समात्न सफल हुनुभयो।

त्यही जरा उहाँका लागि जीवनको डोरी बन्यो। “रुखको जरामा समातेर ज्यान जोगाएँ,” धुन्चेमा उद्धारपछि उहाँले भक्कानिँदै भन्नुभयो।

उहाँसँगैकी मेन्दु लामाको अनुभव पनि फरक थिएन। भेलले उहाँलाई पनि बगाउँदै लग्यो। न भाग्ने बाटो थियो, न समात्ने ठाउँ। अन्तिम अवस्थामा भेटिएको अम्रिसोको जराले उहाँलाई मृत्युको मुखबाट फर्कायो।

दावा भन्छिन्, “बाढी निकै माथिबाट उडेर आएजस्तो थियो। भवन र पूर्वाधारसँगै मानिसलाई छालले तलमाथि पार्दै बगाइरहेको थियो। सेनाको उद्धार टोली पुगेपछि बल्ल बाँचियो भन्ने लाग्यो।”

डोल्माका लागि पनि त्यो बिहान कहिल्यै नबिर्सिने बन्यो। उहाँ श्रीमान् र छोराछोरीसँगै घरमै हुनुहुन्थ्यो। ठूलो आवाज सुनेपछि बाहिर निस्कँदा अगाडिको दृश्यले सबै निर्णय एकैछिनमा गराइदियो। उहाँले एक बच्चालाई च्याप्नुभयो, श्रीमानले अर्की छोरीलाई।

दुवै पहाडतिर दौडिनुभयो। त्यो दौडले उहाँहरूलाई बचायो। तर उहाँका आमा, बुवा, भाइ, भतिज र दुई भतिजी अझै सम्पर्कविहीन छन्।

स्याफ्रुबेँसीमा पेन्टिङको काम गर्ने छिरिङ ग्याल्बुले पनि छोरीलाई च्यापेर पहाडतिर भागेर ज्यान जोगाउनुभयो। उहाँले हेर्दाहेर्दै बाढीले बस्ती नै ढाक्दै बगाएको दृश्य आफ्नै आँखाले देख्नुभयो।

“हेर्दाहेर्दै बाढीले बस्ती र संरचना नै ढाकेर बगायो,” उहाँले भन्नुभयो। उहाँ र छोरी जोगिए पनि श्रीमती, सासु–ससुरा र जेठानको परिवार अझै सम्पर्कमा आएका छैनन्।

बुधबार बिहानसम्म चहलपहलले भरिएको रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ अहिले विपत्तिका साक्षी बनेका छन्। जहाँ घर थिए, त्यहाँ अहिले बगर छ। जहाँ सडक थियो, त्यहाँ नदीले बनाएको नयाँ बाटो छ। बस्तीभरि अहिले मानिसको चहलपहलभन्दा उद्धार टोलीको हेलिकोप्टर र सुरक्षाकर्मीको दौडधुप बढी देखिन्छ।

बाढीमा कति मानिस परे, कति बेपत्ता भए र कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क अझै संकलन गर्न सकिएको छैन। धेरै बस्ती सडक सम्पर्कबाट विच्छेद भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

स्याफ्रुबेँसीस्थित श्री कोमिन स्यामी वाङ्फेल माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत डोल्मा तामाङका बुबा रसुवागढी नाकामा भरियाको काम गर्नुहुन्थ्यो। बाढीपछि उहाँ सम्पर्कविहीन हुनुहुन्छ। पढाइ र भविष्यका सपना देख्ने उमेरमा डोल्माले अहिले परिवारको चिन्ता बोकेकी छन्।

बाढीले रसुवागढीदेखि नुवाकोटको त्रिशूली–बट्टारसम्म करिब ८० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्‍याएको छ। पासाङल्हामु राजमार्गका विभिन्न भाग भत्किएपछि स्थलमार्गबाट उद्धार र राहत पुर्‍याउन कठिन भएको छ। त्यसैले अहिले प्रभावित क्षेत्रमा पुग्ने मुख्य माध्यम हेलिकोप्टर बनेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा खोज तथा उद्धारमा परिचालित छन्। सडक, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धारमा थप चुनौती सिर्जना भएको छ। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र स्थापना गरिएको छ भने काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्ससहित मेडिकल टोली तयारी अवस्थामा राखिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना र प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च पदाधिकारीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार तथा राहत कार्यको अनुगमन गर्नुभएको छ।

गोसाइँकुण्ड–२ अन्तर्गत रसुवागढी, घट्टेखोला र टिमुरे, गोसाइँकुण्ड–५ को स्याफ्रुबेँसी, आमाछोदिङ्मो–१ को हाकुबेँसी तथा उत्तरगया–४ को पैरेबेँसी र वडा नं. ५ को बेत्रावती बजारलगायत क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

भोटेकोशीको यो बाढीले घर र पूर्वाधार मात्र बगाएको छैन। यसले कैयौँ परिवारका सपना, भविष्य र आफन्तसमेत बगाएको छ। कसैकी आमा हराएकी छन्, कसैका बुवा। कतिपयले आफ्नै आँखाअघि घर, गाउँ र आफन्तलाई भेलमा विलीन भएको देखेका छन्। केही मिनेटमै आएको त्यो विपत्तिले रसुवाका धेरै परिवारको जीवनलाई सधैँका लागि दुई भागमा बाँडिदिएको छ—बाढीअघि र बाढीपछिको जीवन।

(प्रस्तुत सामग्रीको स्रोत र तस्वीर गोरखापत्र दैनिकबाट लिइएको हो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.