जन सरोकार

पोखरामा पहिरो ३ जनाको मृत्यु, पाँचजना घाइते

मनसुन क्रमश निस्क्रिय हुँदै गएको भनिए पनि कास्कीको पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी बालक बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन ।

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।

यसै गरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छन । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button