“भारत भ्रमणका क्रममा नेपालको वृहत्तर हितमा कुरा भयो, इपिजीको कुरा भएन”
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमण देशको हितमा कुराकानी भएको तर, नेपाल र भारत सरकारले गठन गरेको प्रबुद्ध व्यक्ति समूह इपीजीको विषयमा कुराकानी नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै भएको भारत भ्रमणबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।
मन्त्री राणाले भारत भ्रमण सद्भावना भ्रमण रहेको तर आफूले नेपालको हित र चासोका सबै विषयहरू वार्ताका क्रममा राखेको बताउनुभयो ।
भ्रमणका क्रममा यही भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको र सो भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्नेबारे छलफल भएको बताउनुभयो ।
त्यस क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको जानकारी पनि मन्त्री डा। राणाले गराउनुभयो ।
त्यसै गरी विदेशमन्त्री जयशङ्कर र आफ्नाबीचमा भएको द्विपक्षीय भेटघाट महत्त्वपूर्ण रहेको बताउँदै उहाँले भेटका क्रममा नेपाल र भारतबीच व्यापार तथा पारवहन क्षेत्रमा सहयोग बढाउने, नेपालबाट भारतमा निकासी हुने विद्युतको मात्रा बढाउँदै लैजाने, सीमापार कनेक्टिभिटी विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रवर्धन गर्ने तथा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।
त्यसैगरी सो भेटमा बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
त्यसै गरी मन्त्री डा. राणाले नेपालमा क्रिकेटको विकासका लागि खेलाडीको क्षमता अभिवृद्धि तथा धनगढीको फाप्लामा क्रिकेट स्टेडियमको निर्माणका लागि कार्य गर्ने, सीमा पूर्वाधारको निर्माण तथा विस्तारमा सहकार्य गर्ने लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको बताउनुभयो ।
मन्त्री डा. राणा भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भदौ २ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्