राजनीति

प्रधानमन्त्रीसँग सर्वदलीय बैठक आयोजना गर्न आग्रह

प्रतिनिधिसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको विशेष समयमा आफ्ना धारणा राख्दै उहाँले केन्द्र, प्रदेश र जिल्ला स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय भइसकेकाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरी यसलाई मूर्तरूप दिनुपर्ने बताउनुभयो ।

सांसद वर्षमान पुनले विपद्पछिको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापना र विपद् व्यवस्थापनका लागि स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभयो । उहाँले बाढीका कारण जलविद्युत् आयोजना, सुरुङ तथा विद्युत्गृहमा फसेकाहरूको सम्भव भएसम्म छिटो खोजी तथा उद्धार गर्न, राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउन सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभयो ।

पूर्व अर्थमन्त्री पुनले राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष स्थापना गर्न, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा हिमाली क्षेत्रको नियमित अनुगमन र अध्ययन गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी प्रभावित क्षेत्रमा अझै केही सुरुङमा मानिस फसेको हुनसक्ने भएकाले ती सुरुङमा तत्काल उद्धार टोली पठाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले उपलब्ध साधनस्रोत परिचालन गर्न र उद्धारकार्यमा विज्ञसँग परामर्श गर्न सुझाव दिनुभयो ।

श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले विपद्बाट भएको क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तरराष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताउनुभयो । उहाँले विपद्का समयमा एकता, सहयोग र ऐक्यबद्धताको खाँचो रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.