जल/वातावरण

मौसमी फ्लू र कोरोना उस्तै लक्षण, फरक छुट्याउने तरिका यस्तो छ

आजभोलि भाइरस फ्लूको याम पनि हो । सामान्य अवस्था हुन्थ्यो भने यसलाई उतिसारो चासो दिनुपर्ने थिएन तर यही समयमा काठमाडौं लगायत देशका अधिकांश भागमा कोरोना संक्रमणको त्रास छ र दुबैको लक्षण उस्तै उस्तै भएकाले आम जनमानसलाई अरु बढी त्रस्त बनाएको छ ।

सबभन्दा महत्वपूर्ण कुरा के हो भने मौसमी फ्लूलाई कोरोना मानेर आत्तिनु पनि भएन र त्यस्तै लक्षण देखिंदैमा मौसमी फ्लू हो भनेर निर्धक्क बस्न पनि भएन । आफू स्वयंले लक्षणको प्रकृतिलाई हेरेर एक हदसम्म समीक्षा गर्न सकिन्छ । यसले अनावश्यक मानसिक दवावबाट मुक्त गर्न सघाउ पुग्छ भने बेलैमा सचेत पनि गराउँछ ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिन थाल्यो भने सुरुमा ज्वरो आउँछ भने भाइरल फ्लूले पनि ज्वरो नै आउँछ । अब भिन्नता कसरी छुट्याउन त ? भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार कुन कोरोना हो र कुन फ्लू हो भन्ने सलिै छुट्याउन सकिन्छ र यसलाई लिएर आत्तिनु पर्दैन ।

डा. भट्टका अनुसार कोरोनाका कारण आएको ज्वरो दुईचार दिन रहन्छ भने मौसमी फ्लु हो भने अझै लामो समयसम्म आइरहन सक्छ । महत्वपूर्ण र याद गर्नुपर्ने कुरा के छ भने कोरोनाको ज्वरो अलि कडा हुन्छ । त्यस्तो बेला मानिसले बढी जाडो महशुस गर्छन् जसले गर्दा शरीर काम्ने पनि हुन्छ । तर मौसमी फ्लुको ज्वरो त्यस्तो कडा हुँदैन । फ्लुका कारणले ज्वरो आउँदा शरीर काम्दैन, बरू लामो समयसम्म चाहिँ आइरहन सक्छ ।

साथै कोरोनाको लक्षण १४ दिनसम्ममा पनि देखिन सक्छ तर फ्लुको लक्षण तीन दिनमा देखा पर्न थाल्छ । त्यसैले कहिलेदेखि लक्षण देखा पर्न थाल्यो भने स्वयंले विचार गर्नुपर्छ ।

यसरी कामज्वरो आयो र दुई, चार दिनसम्म मात्र रह्यो भने त्यो कोरोना हुनसक्ने सोचेर त्यस्तो बेला तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने डा. भट्टको सुझाव छ ।

त्यस्तै मौसमी फ्लुमा लाग्ने र कोरोनामा लाग्ने खोकीमा भिन्नता रहेको छ । डा. भट्टका अनुसार यदि खोक्दा थोरै भए पनि खकार आइरहन्छ र नाकबाट पातलो पानी वा सिँगान बगिरहन्छ भने त्यो मौसमी फ्लुका लक्षण हुन् । त्यसैले यस्तो बेला धेरै आत्तिन पर्दैन । त्यो बेला मानिसलाई रूघाखोकी पनि भएको हुनसक्छ । जसलाई कमन कोल्ड पनि भनिन्छ ।

रुघा लाग्दा नाकबाट पातलो पानी बग्ने र पछि त्यही पातलो पानी बाक्लो सिँगान हुँदै जाने गर्दछ । मौसमी रुघाखोकीका कारण नाक टालिने र सास फेर्न गाह्रो हन्छ भने कोरोनामा पनि सास फेर्न गाह्रो हुन्छ, तर रूघामा जसरी नाक टालिंदैन ।

अर्को महत्वपूर्ण कुरा कोरोना भएको रहेछ भने जति खोक्दा पनि थोरै पनि खकार आउँदैन कोरोनाको खोकी एकदम सुख्खा हुन्छ । जति खोक्दा पनि कफ आउँदैन जुन अरू मौसमी रुघाखोकीमा मज्जाले आउँछ । कोरोनाका कारणले आएको खोकी हो भने सुरूआती समयमा धेरै नै लाग्छ तर कफ चाहिँ आउँदैन ।

यसरी ज्वरो र खोकी कसरी आइरहेको छ भन्ने ख्याल गर्न सके त्यो कोरोनाले हो वा मौसमी फ्लुले भन्ने थाहा पाउन सहज हुन्छ । तर यतिमै सीमित भएर कोरोना लागेको, नलागेको भने पत्ता लाग्दैन । टाउको, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण पनि ख्याल गर्नुपर्छ ।

डा भट्टका अनुसार कोरोनाभन्दा फ्लुमा बढी जिउ दुख्ने, थकान महशुस हुने र खाना खान मन नलाग्ने गर्छ । साथै लक्षण पनि फ्लुमा छिटो देखिन्छ । कोरोनामा भने विस्तारै देखिने हुन्छ । कोरोना छ भने आज ज्वरो आउने, भोलि टाउको दुख्ने, पर्सी थकान महसुश हुने र विस्तारै सास फेर्न गाह्रो हुन्छ । तर फ्लुमा एकैपटक सबै लक्षण देखापर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.