नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले बाढीपहिरोबाट प्रभावित नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतलाई तीव्रता दिएको छ ।
कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सञ्चालनमा ल्याउन जेसीबी, टिपरलगायत उपकरण परिचालन गरी मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ ।
चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पच्र्याङ सडक मर्मतका लागि चारवटा जेसीबी र एउटा टिपर परिचालन गरिएको छ । विदुर–चोकदे–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडकमा पनि मर्मत कार्य जारी छ ।
चोकदे–उपल्लो गेर्खुटार–केराघारी, चोकदे–कुवापानी–बेत्रावती, कल्याणी–मलागाउँ–नीरञ्जना, हर्रे–कल्याणी, बागखोर–झ्याङ्ली तथा तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मका सडकमा पनि मर्मत तथा सुधारको काम भइरहेको कार्यालयले जनाएको छ ।
बाढीका कारण आवतजावतमा समस्या भएका स्थानमा वैकल्पिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । त्रिशूली बजार–इन्द्रायणी कोलोनी क्षेत्रमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा तुइन निर्माण गरिएको छ ।
चन्द्रज्योति होल्डिङ सेन्टरमा ग्राभेल गर्ने कार्यसमेत सम्पन्न भएको छ ।





प्रतिक्रिया राख्नुहोस्