कामको ज्याला माग्दा दलित परिवारमाथि निर्घात कुटपिट, तीनजना अस्पताल भर्ना
कोरोना संक्रमणका समयमा पनि आफ्नो पेट पाल्न दैनिक ज्याला मजदुरी गर्न बाध्य निम्नवर्गकामाथि कथित उच्च वर्गका मानिसबाट हुने दुव्र्यवहारमा कुनै कमी आएको छैन । पछिल्लो समय जातीय विभेदका घटनाहरु बढ्दै गएका बेला धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ ।
विदेह नगरपालिका वडा नम्बर–३ गोबराहीका स्थानीय सवाई दासका परिवारलाई स्थानीय हरी कुसियैतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपिट गरेको पीडित परिवारको आरोप छ ।
सोमबार साँझ आफूहरूले ज्यालादारी गरेको पैसा माग्न गएका बेला सामान्य विवाद हुँदा कुसियैत परिवारले सवाई दासको घरमै गई कुटपिट गरेको पीडित रामशरण दासले जानकारी दिएका छन् ।
कुटाइबाट सवाईकी ४५ वर्षीय श्रीमती निलमदेवी दास, उनकी बुहारी, २४ वर्षीय भतिज रामशरण दास र भाइ रामभगत दास घाइते भएका छन् । कुटपिट गर्ने रोशन कुसियैत, बिटु कुसियैत र भतिज दुर्गेश कुसियैत फरार रहेका छन् ।
निर्घात कुटपिटबाट घाइते निलमदेवीलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको छ । कुसियैत परिवार पक्षका पनि तीन जना घाइते भएर अस्पताल भर्ना भएका छन् ।
विदेह नगरपालिकाका प्रमुख बेचन दासले सवाईका छोराहरू कुसियैतको घरमा ज्यालादारी गर्दै आएको र ज्यालादारी बापत बाँकी रहेको पैसा माग्न जाँदा कुटपिट भएको जानकारी दिनुभएको छ ।
कुटपिट गर्नेमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरी चौकीमा निवेदनसमेत दिएको पीडित परिवारका सदस्य रामशरण दासले बताए । कुटपिट गर्नेलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडितको आरोप छ ।
प्रतिक्रिया राख्नुहोस्