विश्व समाचार

लैङ्गिक विभेदको विरोधमा एफिल टावरका कर्मचारी हडतालमा

महिला कर्मचारीलाई हिन्दू धार्मिक प्रतिनिधिमण्डलसँग सम्पर्कमा नआउन निर्देशन दिइएको विरोधमा भएको हडतालका कारण एक दिन बन्द रहेको फ्रान्सको प्रसिद्ध पर्यटकीयस्थल एफिल टावर मंगलबार पुनः सञ्चालनमा आएको छ।

एफिल टावरका कर्मचारीले व्यवस्थापनले शनिबार भ्रमणमा आएको हिन्दू प्रतिनिधिमण्डलका क्रममा महिला कर्मचारीको उपस्थितिमा प्रतिबन्ध लगाउने खालको निर्देशन दिएको भन्दै विरोध जनाएका थिए। सीजीटी ट्रेड युनियनकी डियान डाभ्वानले एसोसिएटेड प्रेस (एपी)सँग कुरा गर्दै व्यवस्थापनको उक्त निर्देशनलाई ‘अस्वीकार्य’ भन्दै कर्मचारीमा आक्रोश बढेको बताइन्।

डाभ्वानका अनुसार ३३० मिटर अग्लो एफिल टावरमा कार्यरत कर्मचारीलाई भारतमा उत्पत्ति भएको स्वामीनारायण सम्प्रदायअन्तर्गतको बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस)बाट आएको प्रतिनिधिमण्डलसँग महिला कर्मचारीहरू ‘सम्पर्कमा नआउन’ भनिएको थियो।

बीएपीएस विश्वभर सक्रिय हिन्दू धार्मिक तथा सामाजिक संस्था हो। संस्थाले फ्रान्सको राजधानी पेरिसमा निर्माण गरिएको परम्परागत हिन्दू ढुंगे मन्दिरको उद्घाटनको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको थियो।

मंगलबार एपीलाई पठाएको लिखित वक्तव्यमा बीएपीएसले करिब १०० सदस्यीय प्रतिनिधिमण्डलको एफिल टावर भ्रमणका क्रममा कर्मचारी र अन्य पर्यटकलाई कमभन्दा कम असुविधा होस् भनेर टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ।

तर उक्त समन्वय लैङ्गिक आधारमा गरिएको अनुरोध नभएको संस्थाले स्पष्ट पारेको छ। वक्तव्यमा भनिएको छ, ‘समन्वय कुनै पनि अवस्थामा लैङ्गिकतामा आधारित अनुरोधका रूपमा गरिएको थिएन। यसको विपरीत अर्थ लाग्ने कुनै पनि व्याख्या हाम्रो संस्था वा प्रतिनिधिमण्डलको भावना र मूल्यमान्यतासँग मेल खाँदैन।’

बीएपीएसले लैङ्गिक समानता, पारस्परिक सम्मान तथा सबैप्रति सेवाको सिद्धान्तप्रति आफू प्रतिबद्ध रहेको पनि जनाएको छ। यसअघि जारी गरेको वक्तव्यमा संस्थाले घटनाका कारण कसैलाई चोट पुगेको वा असुविधा भएको भए ‘हार्दिक क्षमायाचना’ गरेको थियो।

एफिल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। करिब १३७ वर्ष पुरानो एफिल टावरमा हरेक वर्ष झण्डै ७० लाख पर्यटक पुग्ने गरेका छन्।

युनियनकी डाभ्वानले एफिल टावरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न देशका राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तित्वसहित विशेष प्रतिनिधिमण्डलको भ्रमण भइरहने र त्यस्ता अवसरमा कर्मचारीले आवश्यकताअनुसार आफ्नो कामको शैलीमा समायोजन गर्ने गरेको बताइन्। तर शनिबार दिइएको निर्देशन भने असाधारण र ‘अस्वीकार्य’ रहेको उनको भनाइ थियो।

पेरिसका मेयर इमानुएल ग्रेगोआरले सामाजिक सञ्जाल एक्समार्फत घटनाको अनुसन्धान गरिने बताएका छन्। उनले लैङ्गिक समानताको सिद्धान्त ऐतिहासिक स्मारकको परिसर वा सहरका कुनै पनि स्थानमा सीमित हुन नसक्ने उल्लेख गर्दै समानता सबै व्यक्ति र सबै ठाउँमा लागू हुनुपर्ने बताएका छन्।

हडतालका कारण एफिल टावर बन्द भएको यो पहिलो घटना भने होइन। सन् २०२४ को फेब्रुअरीमा पनि कर्मचारीले ऐतिहासिक संरचनाको उचित मर्मतसम्भार तथा पारिश्रमिक वृद्धि माग गर्दै गरेको आन्दोलनका कारण टावर लगातार छ दिन बन्द भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.