मध्यावधि चुनावमा रिपब्लिकन विजयी भए प्रत्येक अमेरिकीलाई ५,००० डलर दिने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसमा बहुमत कायम राखेमा प्रत्येक वयस्क अमेरिकीलाई ५,००० अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ।
डलासमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यो असाधारण आश्वासनका साथै आफ्ना समर्थकहरूलाई चुनावमा आफू नै उम्मेदवार रहेको “भान पार्न” समेत आग्रह गर्नुभएको छ।
डेमोक्र्याटहरूसँगको चुनावी प्रतिस्पर्धामा रिपब्लिकन पार्टी पछाडि परिरहेका सर्वेक्षणहरू सार्वजनिक भइरहेका बेला ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो। “यदि रिपब्लिकनहरूले जिते भने, तपाईँहरू हामीसँगै जित्नुहुनेछ र ५,००० डलर पाउनुहुनेछ। यसलाई ‘ट्रम्प लाभांश’ भनिनेछ,” उहाँले भन्नुभयो।
यद्यपि, यो योजना कार्यान्वयन गर्दा कम्तीमा १ खर्ब (१ ट्रिलियन) डलरभन्दा बढी खर्च हुने भए पनि ट्रम्पले यसका लागि रकम कहाँबाट जुट्छ भन्ने प्रस्ट पार्नुभएन। उहाँले केवल “हाम्रो देशले धेरै पैसा कमाइरहेको छ” भन्ने दाबी मात्र गर्नुभयो।
नोभेम्बर ३ को चुनावमा ओपिनियन पोलहरूलाई गलत साबित गर्दै कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम राख्ने दाउमा रहनुभएका ट्रम्पले भन्नुभयो, “म तपाईँहरूलाई म आफैँ उम्मेदवार भएको भान पार्न अनुरोध गर्दछु। म उम्मेदवार हुँ, म उम्मेदवार हुँ- केवल एक पटकका लागि।”
हालैका ओपिनियन पोलहरूले ट्रम्पको लोकप्रियता घटेर ३० को दशकको तल्लो विन्दुमा झरेको देखाएका छन्। बढ्दो महँगी र इरानविरुद्ध सुरु गरिएको युद्धका कारण मतदाताहरू उहाँप्रति असन्तुष्ट बन्दै गएका छन्।
‘डिभिजन डेस्क एचक्यू’ को प्रक्षेपण अनुसार नोभेम्बरको चुनावमा डेमोक्र्याटहरूले २३०-२०५ सिटसहित हाउस अफ रिप्रिजेन्टेटिभ्स (निचो सदन) र ५१-४९ सिटसहित सेनेट (माथिल्लो सदन) मा जित हासिल गर्ने सम्भावना छ।
इरान युद्धको बचाउ
कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले जनस्तरमा अप्रिय बनेको इरान युद्धको कडा बचाउ गर्नुभयो। उहाँले युद्धमा अमेरिकाको जित निश्चित रहेको दाबी गर्दै यसले इन्धनको मूल्य घटाउन सहयोग पुर्याउने बताउनुभयो।
साथै, उहाँले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरूमध्य’को नाम बदलेर आफ्नै नामबाट राख्नुपर्ने सुझाव समेत दिनुभयो।
“खाद्यान्न र लगभग हरेक वस्तुको मूल्य तीव्र रूपमा घटिरहेको छ। र, हामीले अहिले भइरहेको इरानसँगको युद्ध जित्नेबित्तिकै तेलको मूल्य पनि घट्नेछ,” ट्रम्पले भन्नुभयो।
सम्बोधनका क्रममा ट्रम्पले डेमोक्र्याटहरूको जितले अमेरिकामा साम्यवादको खतरा बढाउने भन्दै अन्य रिपब्लिकन नेताहरूकै बोली दोहोर्याउनुभयो।
उहाँले चेतावनी दिँदै भन्नुभयो, “यदि उनीहरूले जिते भने यो एक साम्यवादी देश बन्नेछ, तपाईँको भोटले नै हाम्रो देश आगामी २५० वर्षको सुरुआती बिन्दुमै लड्छ कि अगाडि बढेर कहिल्यै पछाडि फर्केर हेर्नुपर्दैन भन्ने निर्णय गर्नेछ।”
उपराष्ट्रपति जेडी भान्सको मुख्य भाषणपछि ट्रम्प बिहीबार सम्मेलनको समापन समारोहमा पुनः सहभागी हुने कार्यक्रम छ। सम्मेलनमा मन्त्रिपरिषद्का सदस्यहरू, कंग्रेसका नेताहरू र कडा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको पनि सहभागिता रहेको छ।
आफू स्वयं उम्मेदवार नभए पनि आफ्नो व्यक्तिगत निष्ठावान् मतदाताहरूलाई कसरी परिचालन गर्ने र राष्ट्रपति कार्यकालका कारण टाढिएका स्वतन्त्र मतदाताहरूलाई थप नभड्काई कसरी आकर्षित गर्ने भन्नेमा रिपब्लिकन पार्टीको मुख्य रणनीति केन्द्रित देखिन्छ।
राजनीतिक चुनौतीका बीच चुनावी उत्साह
नोभेम्बरको चुनावलाई लिएर बाहिर राजनीतिक चुनौती देखिए पनि ‘अमेरिकन एयरलाइन्स सेन्टर’ भित्र भने रिपब्लिकन कार्यकर्ताहरूमा कुनै चिन्ता वा निराशा देखिँदैनथ्यो।
सम्मेलनमा डेमोक्र्याटिक सेनेटर जोन् फेटरम्यानको भिडियो सन्देश पनि समावेश गरिएको थियो, जसको इजरायल लगायतका मुद्दाहरूमा आफ्नै पार्टीको वामपन्थी धड़ासँग मतभेद बढ्दै गएको छ।
रिपब्लिकनहरूले आफ्नो भाषणमा कर कटौती, सीमा सुरक्षा र आप्रवासन नियन्त्रणका साथै स्वदेशी उत्पादनमा वृद्धि र औषधि-उपचारको मूल्य घटाइएको विषयलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए।
विशाल हल ट्रम्पका पोस्टरहरूले सजाइएको थियो। उहाँका समर्थकहरू ट्रम्पको नाम, तस्बिर र अमेरिकी झण्डा अङ्कित ज्याकेट तथा काउबोय ह्याटमा सजिएका थिए।
रिपब्लिकनहरूका लागि राजनीतिक वातावरण चुनौतीपूर्ण भए पनि सम्मेलनको माहोल उत्सवमय थियो। राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा ट्रम्पका चुनावी र्यालीहरूमा घन्किने “युएसए ! युएसए !” को नारा हलभर गुञ्जिरहेको थियो।
दिउँसोदेखि साँझ पर्दै जाँदा हल बिस्तारै भरिँदै गएको थियो। मिसिगनबाट सम्मेलनमा भाग लिन आएकी ७७ वर्षीया कन्जर्भेटिभ पोडकास्टर सुसान कोकिन्डाले एएफपीसँग कुरा गर्दै नोभेम्बरमा रिपब्लिकनहरूको प्रदर्शन “उत्कृष्ट हुने” आशा व्यक्त गर्नुभयो ।
“सामान्य मान्यता के छ भने सत्तामा रहेको पार्टीले चुनाव हार्छ। तर म सधैँ भन्छु, डोनाल्ड ट्रम्प परम्परागत राष्ट्रपति होइनन्, उहाँ रिपब्लिकन पार्टीलाई नयाँ रूप दिँदैहुनुहुन्छ “।
मध्यावधि चुनावलाई नै लक्षित गरेर आयोजना गरिएको यो पहिलो रिपब्लिकन राष्ट्रिय सम्मेलन हो, यद्यपि यसबाट कुनै उम्मेदवार मनोनीत गरिने छैन र पार्टीको औपचारिक कार्यसूची पनि तय गरिएको छैन।
यसको सट्टा, आयोजकहरूले ट्रम्पका उपलब्धिहरू र रिपब्लिकन उम्मेदवारहरूको प्रवर्द्धन गर्न दुई राते टेलिभिजन र्यालीको रूपमा यो कार्यक्रम तयार पारेका छन्। सम्मेलनमा १०० भन्दा बढी कंग्रेस सदस्य तथा उम्मेदवारहरूको उपस्थिति रहने र हरेक रात ५० भन्दा बढी वक्ता तथा प्रस्तुतिहरू रहनेछन्।





प्रतिक्रिया राख्नुहोस्