ह्यारी–मेघनको शाही हैसियत यथावत्
बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायत फर्किए पनि उहाँहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पार्नुभएको छ । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उहाँहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ ।
राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतीको सुरक्षा व्यवस्थासम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले गर्ने उल्लेख छ । शाही घरानाका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले सरकार, सेना तथा देशभर राजाका प्रतिनिधि रहेका लर्ड लेफ्टिनेन्टहरूलाई पत्र पठाउनुभएको हो ।
पत्रमा कुनै शङ्का वा भ्रम नहोस् भनेर राजाको निर्देशनमा जानकारी साझा गरिएको उल्लेख छ । ह्यारी–मेघनको हैसियत यथावत् रहे पनि उहाँहरूले शाही परिवारका काम गर्ने सदस्यसँग समानान्तर शाही संरचना बनाउन सक्ने आशङ्का दरबारका केही पर्यवेक्षकले गर्दै आएका छन् ।
शाही जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट प्राप्त हुने प्रहरी सुरक्षा पुनःस्थापनाका लागि ह्यारीले सरकारसँग लामो कानूनी लडाइँ लड्दै आउनुभएको छ । दम्पतीलाई चौबीसै घण्टा प्रहरी सुरक्षा दिने वा नदिने निर्णय आरएभिइसी अर्थात् रोयल एन्ड भिआइपी कार्यकारी समितिले गर्नेछ ।
लर्ड चेम्बरलेनले औपचारिक सम्मान वा राज्यका निकायबाट दिइने विशेष व्यवहार तथा त्यसका लागि सार्वजनिक कोष प्रयोग गर्नुपर्ने विषयमा प्रश्न भए बकिङ्घम दरबारमा सम्पर्क गर्न स्पष्ट पार्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्